नेकपालाई बेवास्ता गरेर गरिने राजनीतिक छलफल र निष्कर्ष औचित्यहिनः विप्लव सी

२६ असोज, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जेनजी विद्रोहपछि नेकपालाई बेवास्ता गरेर गरिने राजनीतिक छलफल र निकालिने निष्कर्ष औचित्यहिन भएको टिप्पणी गर्नु भएको छ ।
आईतवारबाट कपिलवस्तुको शिवगढी केन्द्रीय कार्यालयमा सुरु भएको नेकपाको ‘नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठक’लाई सम्बोधन गर्दै महासचिव विप्लव सीले जेनजी विद्रोहपछि नेकपालाई बेवास्ता गरेर गरिने राजनीतिक छलफल र निकालिने निष्कर्ष औचित्यहिन भएको टिप्पणी गर्नु भएको हो ।
महासचिव विप्लव सीले बैठकको सुरुमै ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शिर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भन्नु भयो ‘जेनजी विद्रोहद्वारा संसद बिघटन भैसकेपछी पनि नेकपालाई बेवास्ता गरेर गरिने राजनीतिक छलफल र निकालिने निष्कर्ष औचित्यहिन छन ।’
उहाँले आफ्नो राजनीतिक प्रतिवेदनमा पुरानो राजनीतिक कोर्ष सकिएको भन्दै नयाँ कम्युनिष्ट केन्द्र बनाएर कम्युनिष्ट वामपन्थीहरुबीचको एकीकरण र धुव्रीकरण गर्नुपर्नेमा जोड दिनु भएको केन्द्रीय सदस्य विवेक सीले जानकारी दिनु भयो ।
महासचिव विप्लवले आजको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि विस्तृत अध्ययन र सुझाव संकलनको लागि सोमबारसम्मलाई समय दिनु भएको छ ।
आजको बैठकमा प्रतिवेदन सबै केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । सोमवार विहानबाट पुनः सुरु हुने बैठकमा प्रत्येक जिल्लाबाट जिल्ला इन्चार्ज, जनवर्गीय संगठनका प्रमुखहरु, अभियान टोलीका प्रमुखहरुले प्रतिवेदनमाथिको आ–आफ्नो सुझाव पेश गर्नेछन ।
सबैको सुझाव आएपछि महासचिव विप्लव सीले सुझावहरुको ग्रहण गर्दै बैठकलाई समापन गर्नुहुने नेकपा श्रोतले जनाएको छ । यतिवेलाको बैठकले माओवादी केन्द्र लगायतका कम्युनिष्ट बामपन्थी शक्तिसंगको एकताका विषयमा ठोश निर्णय गर्ने पनि अनुमान गरिएको छ ।
नेकपाको यसअघिका बैठकभन्दा यो बैठकलाई सबैले विशेष चासोका साथ हेरेका छन ।

प्रतिक्रिया दिनुहोस