निराशा विरुद्ध युवा जागरण जरुरी छ: प्रकाण्ड सी

२९ पुस,काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले समाजमा विद्यमान निराशाविरुद्ध युवा जागरण अभियान जरुरी रहेको बताउनु भएको छ ।

युवा संगठन नेपालको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई आइतबार हेटौंडामा सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्डले अहिलेको व्यवस्थाको असफलताका कारण उत्पन्न निराशालाई चिर्न युवा संगठन नेपाललाई देशव्यापी जागरण अभियान सञ्चालन गर्न निर्देशन दिनु भएको हो ।

उहाँले अहिले समाजमा युवा बेरोजगारी, भ्रस्टाचार, महङ्गी, बाह्य हस्तक्षेप र सामाजिक अराजकताले नागरिकहरु आक्रान्त रहेको भन्दै त्यस विरुद्धको जागरण मार्फत नयाँ विकल्प निर्माणको अभियान जरुरी रहेको बताउनु भयो ।

समाजमा देखिएको निराशको प्रमुख कारण विद्यमान व्यवस्था भएकोले यसको विकल्पमा समाजवादी क्रान्ति देशको आवश्यकता भएको कुरामा जोड दिँदै प्रवक्ता प्रकाण्डले अरु दल समर्थक युवाहरू भ्रष्टाचार,कमिशनमा लिप्त भएकोले युवा संगठन नेपालले मात्रै देशको स्वाधीनता र युवा अधिकारका लागि लड्न संभव रहेको बताउनु भयो ।

युवा संगठन नेपाल केन्द्रिय समिति बैठकमा प्रमुख अतिथि रहनु भएका प्रवक्ता प्रकाण्डले नेकपाले अघि सारेको नयाँ आर्थिक मार्ग अनुसार युवाहरुले उत्पादनका कामलाई थप व्यवस्थित गर्नुपर्ने बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवाद, लेनिनवाद र माओवादको प्रयोगको क्रममा नेपालमा नयाँ बिचारको बिकास प्रक्रिया अघि बढेको,त्यसलाई सुत्रबद्ध र संश्लेषण गर्न व्यापक अध्ययन , छलफल र बहस समेत जरुरी रहेको र बिचार संश्लेषणको महान कामलाई निकट भविस्यमा संश्लेषण गर्ने योजना रहेकोले युवाहरुले बिचारधारात्मक कामलाई समेत जोड दिनुपर्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस