बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु


२८ कात्तिक, डोटी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । मृतकको सनाखत भइसकेको छैन ।
दुर्घटनामा ३५ जना घाइते भएका र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो । घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जोशीले बताउनु भयो । केहीलाई धनगढी रिफर गरिएको छ ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनु भये । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहनु भएको र उहाँ समेत घाइते हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस