ओलीलाई प्रचण्डको जवाफी पत्र ः इनफ इज इनफ !

२९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई जवाफी पत्र लख्नु भएको छ । ओलीले कात्तिक २५ मा पठाएको १० पन्ने पत्रको जवाफमा प्रचण्डले ७ पन्ने जवाफी पत्र लेख्नु भएको हो ।
शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीलाई बुझाइएको जवाफी पत्रमा प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको प्रचण्डले बताउनु भएको छ ।
मन्त्रिपरिषद पुनर्गठन र राजदूतहरुको नियुक्ति प्रचण्डसँग सल्लाह गरेरै गरिएको भन्ने प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदै प्रचण्डले ओलीलाई लेखेको जवाफमा भन्नु भएको छ , सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु यो त दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ?’
आफूले ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई मन्त्रीबाट हटाउनुपर्छ नभनेको, बरु बादललाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव राखेको र प्रदीप ज्ञवालीलाई पनि नहटाउन भनेको प्रचण्डले ओलीलाई लेखेको पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले राति–राति बालुवाटारबाट गुटबन्दी गरेको तर, आफूलाई गुटबन्दीको आरोप लगाएको भन्दै प्रचण्डले प्रश्न गर्नु भएको छ , ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैसी पनि नदेख्ने भनेको यही होइन र ?’
प्रधानमन्त्री ओलीले चिप्ला कुरा गर्ने गरेको बताउँदै प्रचण्डले त्यसलाई ‘विष भरिएको घैंटोको मुखमा रहेको अमृत’ को उपमा दिनु भएको छ ।
सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पत्रमा भनिएको छ, मैले दुःखका साथ भन्नुपर्छ कि यो चिप्ला र गुलिया शब्दजाल भित्र प्रस्तुत गरिएको झूठको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम’ का रुपमा महसुस गरें ।
प्रधानमन्त्री ओलीले आफूमाथि अतिचार गरेको बताउँदै प्रचण्डले पत्रमा भन्नु भएको छ , ‘अति गर्नू अतिचार नगर्नू भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, इन अफ इज इनअफ ।

प्रतिक्रिया दिनुहोस