हिउँले जगाएको आशा असिनाले पुर्‍यो

पर्वत – पर्वतको जलजला गाउँपालिकाको उपल्लो भू–भागमा हुरीबताससँगै परेको असिना पानीले आलु खेतीमा क्षति पु¥याएको छ ।

शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँटलगायतका वडाहरुको उपल्लो भेगमा आलु खेतीमा क्षति पुगेको हो ।

माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती फस्टाउने आशामा रहेका कृषकहरु त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि समस्यामा परेका छन् । ‘पहिलोपटक हिउँ पर्दा आलु उत्पादन बढ्ने आशा थियो’, बनौँका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भन्नुभयो, ‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई क्षति पुर्‍यायो ।’ पर्वतको उच्च भूभागमा आलुको व्यावसायिक खेती गरिँदै आएको छ । आलुको व्यावसायिक खेती गरेका कृषकहरुलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ ।

सुरुमा परेको हिउँले सिञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरे पनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रोसँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस