फाल्गुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ ।
अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएका हुन् । महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिनु भएकाे थियाे ।
त्यस्तै औंठाछाप लगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा उक्त घटनामा संलग्न नभएको देखिएकाले सफाइ पाएका श्रेष्ठले बताउनु भयाे ।
के हो मुद्दा ?
प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।
यो घटना १३ असोजमा बाहिर आयो । त्यसबेला महरा र उहाँको सचिवालयले आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकाल्यो ।
१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।
लगत्तै महराले सभामुख पदबाट राजीनामा दिनु भयाे । यद्यपि सांसद पदबाट भने राजीनामा दिउनु भएन । उहाँको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उहाँले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गर्नु भयाे ।
पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिनु भएकाे थियाे । तर उपलब्ध प्रमाणका आधारमा महरा कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।
डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालत पाटनमा पुगे । उच्च अदालतले जिल्लाको आदेश सदर गर्यो, तर मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो ।