काठमाडौं । नेकपा (एमाले)का नेता तथा संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले १८ बर्षसम्म शान्ति प्रक्रियाका कामहरु टुङग्याउन नसक्नुमा सबै दोषी भएको स्वीकार गर्नु भएको छ ।
काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एमाले नेता बर्तौलाले यत्तिका बर्षसम्म शान्ति प्रक्रियाका कामहरु टुङग्याउन नसक्नुमा सबै दोषी भएको स्वीकार गर्नु भएको हो ।
उहाँले भन्नु भयो ‘शान्ति सम्झौता भएको दिनदेखि ६० दिन भित्र बेपत्ताहरुको अवस्था सार्वजनिक गर्ने भनिएको थियो, त्यो भएन,विद्रोहको नेतृत्व गरेको पार्टी र एमाले पटक –पटक सत्तामा गएका छन,विषय गम्भीर थियो, यो समाधान गर्न सकेनौ,यसमा हामी सबै दोषी छौ ।’
उहाँले अब टिआरसी विधेयकलाई छिटो भन्दा छिटो संसदवाट पास गरेर शान्ति प्रक्रियाका वाँकीकामहरु सक्नुपर्ने बताउनु भयो । उहाँले पीडितलाई न्याय दिने गरी टिआरसी विधेयक पारित गरिनु पर्ने विचार व्यक्त गर्नु भयो । नेता बर्तौलाले टिआरसी विधेयकलाई सत्ता उलट पलटको विषय बनाउन नहुने जिकिर गर्नु भयो ।