बन्दको प्रभावले जनजीवन कष्टकर, विभिन्न ठाउँमा शंकास्पद बस्तु भेटियो

बैशाख ५ कालिकाेट । विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दले जनजीवन कष्टकर बनेको छ।

कर्णाली सहित देशभरी नै बन्दको प्रभावले आज गाडी चलेका छैनन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी नचल्दा यात्रुलाई गन्तब्यमा पुग्न समस्या भएको छ । यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको कर्णाली लगायत देशभरी नै प्रभाव परेको प्रहरीले जनाएको छ ।

यसैबीच पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध भएको छ ।

घटनास्थललाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ भने शंकास्पद वस्तु डिस्फोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।

दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो । बन्दका कारण सवारी साधन चलेका छैनन् भने ठाउँठाउँमा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ ।

बन्दका कारण बजार सुनसान देखिएको छ । यस्तै पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ ।

विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहोसमेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले जानकारी दिनुभयो । राति साढे १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् ।

मोटरसाइकलको टायरमा बनाइएको सुतली बम पड्काएको अनुसन्धानबाट खुलेको छ भने शंकास्पद एक जनालाई प्रकाऊ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ । विप्लव नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्व नेकपाले विभिन्न आन्दोलन गर्ने घोषणा गरेको थियो ।

सोही आन्दोलन अन्तर्गत बम राखिएको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन् । विप्लव समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस