नेपालले आफ्नो पहिलो भूउपग्रह ‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण

बैशाख ५, काठमाडौं । नेपालले आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट )‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ ।

नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार आज बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो । ‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूउपग्रह प्रक्षेपण भएकोमा संलग्न सबैलाई बधाइ दिनुभएको छ । करिब डेढ करोडको लागतमा बनेको यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ । यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । घनाकार स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ । यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् ।

यसको आयु अधिकतम ३ वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले बताउनुभयो । प्राविधिक रुपमा उच्च क्षमताको नभए पनि आफ्नै स्याटेलाइट अन्तरिक्षमा पु¥याउने पहिलो कदम नेपालको विज्ञान क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको ढकालको भनाई छ ।

स्याटेलाइटले अन्तरिक्षमा पुग्ने बित्तिकै भने काम सुरु गर्ने छैन । अन्तरिक्षमा पुगेको झन्डै एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसनमा गएर बस्ने छ । प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि मात्र स्याटेलाइट पृथ्वी वरिपरि घुम्ने छ ।

मे महिनाको अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने र त्यसको तीन दिनपछि स्याटेलाइटले तथ्यांक पठाउन सुरु गर्ने अनुमान गरिएको छ । यो स्याटेलाइटले पृथ्वीसँग निश्चित दुरीमा रहेर ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने छ । यस क्रममा नेपालको आकाशमाथि दैनिक ४ देखि ५ मिनेट रहने छ ।

यसले पठाउने तथ्यांक र सूचना विश्लेषणका निम्ति ‘ग्राउन्ड स्टेसन’ तयार नरहे पनि पृथ्वीको चक्कर काट्न थाल्ने बेलासम्म निर्माण पूरा गर्ने योजना रहेको ढकालले बताउनुभयो । यसको आयु नसकिँदै मध्यम आकारको अर्को स्याटेलाइट उडाउने नास्टको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस