जेठ ०४, बाँके । पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो ।
प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नु परेको थियो।
डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।
चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले हवाई फायर गरेपछि सो समूह तितरवितर भएको थियो ।
प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।
विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । सो समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गर्यो । त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो ।
स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।
गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए । ‘शुक्रबार पनि त्यस्तै गर्ने उद्देश्यले आएका थिए, तर उनीहरुको प्रयासलाई सफल हुन दिएनौं,’ सापकोटाले भने ।
आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला प्रदेश सांसद कृष्णा केसीको टोलीलाई समेत भारतीयको समूहले चार घण्टासम्म घेरा हालेर राखेको थियो । उनको गाडीमा आगजनीको प्रयाससमेत भएको थियो । तर, सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले कडा सुरक्षा दिएर सांसद केसीसहितको टोलीलाई उद्धार गरेको थियो ।