नेताको व्यवस्थापन ठीक ढंगले भएन भने बिगार्ने नेतै हुन्छन्: अध्यक्ष दाहाल

जेठ ०५, काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम आइतबार बस्ने सचिवालय बैठकबाट सक्ने बताएका छन्।

नेताहरु व्यवस्थापन गर्न गाह्रो हुँदा तीन महिनामा सक्ने भनिएको पार्टी एकताको काम सक्न एक वर्ष लागेको उनले बताए।

 

‘नेताको व्यवस्थापन ठीक ढंगले भएन भने विगार्ने नेतै हुन्छन्,’ सिन्धुलीको सुनपानी गाउँपालिकामा शनिबार दाहालले भने, ‘नेताको व्यवस्थापन ठीक ढंगले भए भने पार्टीलाई मात्र होइन विकासको वाधक समेत नेता हुन्छन्।’

उनले जिल्ला तहमा पार्टी एकता मिलाउन कठीनाइ भएको पनि बताए। भदौदेखि मंसीरसम्म ७७ जिल्ला अधिवेशन सक्ने गरी तयारी गरिएको बताएका दाहालले केन्द्रीय महाधिवेशन पनि छिटो गर्नेबारे छलफल चलिराखेको बताए।

यसपटक सरकारले लोकप्रिय बजेट ल्याउने दाहालको भनाइ छ। गत वर्षको बजेट लोकप्रिय नभएको भन्दै आफ्नै सांसदहरुले समेत विरोध गरेको स्मरण गरेका दाहालले भने, ‘ऋण लिएर भए पनि यसपटक लोकप्रिय बजेट आउँछ।’

सबैभन्दा धेरै ऋण लिने देश अमेरिका भए पनि उसले प्रगति गरिराखेको उनले बताए। ऋण लिएर राम्रो काममा लगानी गरे धनी भइने उनले बताए। ‘ऋणले धन नै बढाउँछ,’ उनले भने। नेताहरुको व्यवस्थापन जिल्लादेखि केन्द्रसम्म गर्नुपर्ने भन्दै उनले नेताको व्यवसथापन गर्न सके मात्रै फटाफट काम गर्न सकिने बताए।

‘नेताहरुको व्यवस्थापन ठीक ढंगले भयो भने फटाफट काम अगाडि बढ्छ नत्र गाह्रो हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस