शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

८ बैशाख, काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनु भएको हाे ।

शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे ।

मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न, सरकारले लगानी सुरक्षित गर्ने बताउनुभएको थियो । शिक्षामन्त्री भट्टराईले उक्त विषयमा बोलेकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

उहाँले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग समेत भेटघाट गर्नुभएको थियो । त्यसक्रममा उहाँले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहँदै आएको बताउनुभएको थियोे ।

पछि पनि उहाँको मन्त्रालयले शिक्षकहरूलाई पटक पटक वार्ताका लागि बोलाइरहेको थियो । तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस