एक क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले पछिल्लो समय ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या १० पुगको हो । विभाग स्रोतका अनुसार, उहाँलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नु केहिवेरअघि श्रेष्ठले आफूहरुले ‘मोटर पार्टस’ भनिएको सामग्री मात्रै ल्याएको बताउनु भएको थियो ।

‘सन् २००२ देखि हामीले कार्गोको काम गर्दै आएका थियौं, यसमा भित्र सुन छ कि के छ भन्ने थाहा हुने कुरा थिएन’, उहाँले भन्नु भयो ‘क्याथे एयरलाइन्सले पनि एयरविलमा मोटर पाट्स भनेर दिएको थियो । उताबाट पठाउने एजेन्टले पनि त्यही भनेका थिए ।’

यस्तै भन्सार कार्यालय पुग्नु भएका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागले पक्राउ गरिसकेको छ । विभागले एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो । बिहीबार दिउँसो भाग्न लागेका चिनियाँ नागरिक जीक्वाङ लिनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । त्यसपछि राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको थियो ।

हालसम्म उहाँ नै सुन तस्करी प्रकरणको नाइके भएको विभागले बताउँदै आएको छ । उहाँ विजनेश भिसामा नेपाल आएको खुलेको छ ।
मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १ क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उहाँका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस