चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

असोज ४, चितवन । सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज (सीएमसी) सहमत भएको छ । यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफल भएको थियो ।

बैठकले शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक-एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ ।

कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिनु भयाे ।

आन्दोलनरत विद्यार्थीका अगुवा प्रकाश चन्दले भने सहमति कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने बताउनु भयाे । उहाँले भन्नु भयाे, ‘सहमति हुँदैमा कार्यान्वयन भइहाल्छ भन्ने विश्वास छैन, यदि कार्यान्वयन भएन भने फेरि आन्दोलन अघि बढाउँछौं ।’

सहमतिसँगै आइतबारबाट नै पठनपाठन सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस