मोहन वैद्यको कार्यकर्तालाई निर्देशन: ‘जनविद्रोहका लागि तयार हुनुस्’

असार ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

 

यो खबर अशोकसुजन श्रेष्ठले नागरिकजमा लेखेका छन् । शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए।

‘प्रधानमन्त्रीले आन्दोलन हुँदैन भनेपनि स्थिति त्यस्तो छैन, स्थिती बदलिदै गएको छ,’ उनले भने, ‘काठमाडौंको आन्दोलनले जनतामा सडकमा उत्रिन्छन् भन्ने राम्रो संकेत गरेको छ।’ स्थायी सरकार भनेपनि सरकारस्थिर हुन नसक्ने भन्दै दुई तिहाई मत ल्याएपनि सरकारले जनतालाई धोका दिदै आएको आरोप लगाए।

‘यो सरकार जनता, सहिद, वेपत्ता योद्धा र जनमुक्ती सेनाहरुको रगतमा उभिएर बनेको छ,’ उनले भने, ‘शान्ति प्रक्रिया पुरा भयो भन्दै आयो, कहाँ पुरा भयो भन्नुहोस् त?’ शहिद, जनमुक्ती सेनाको योद्धा, घाईते, अपाङ्गको अवस्थाप्रति सरकारले खासै चासो नदिएको भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोग गठनमै सिमित रहेकाले शान्ति प्रकृया पुरा भएको नमान्ने बताए।

नयाँ जनवादी सत्ता स्थापनाका लागि संसदीय व्यवस्थाविरुद्ध लडेपनि पुनः संसदीय व्यवस्था आएको भन्दै असन्तुष्टी जनाए। देशमा बेरोजगारीको समस्या गम्भीर रहेको भन्दै महासचिव वैद्यले वर्तमान सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको समस्या समाधान गर्न कुनै चासो नदिएको जिकिर गरे।

‘जबसम्म सहिद र वेपत्ता योद्धाको परिवार, जनमुक्ती सेनाको जवान र युवाहरुको संरक्षण नभएसम्म क्रान्ति जारी रहन्छ,’ उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम भनिन्छ तर त्यो आफ्नो पार्टीका मान्छेहरुलाई पोस्ने काम भइरहेको छ, युवाहरु रोजगारीका लागि खाडी जानुपर्ने बाध्यता छ।’

नेपालको भु-भाग भारतीय पक्षबाट मिच्ने काम नरोकिएको भन्दै उनले जनतन्त्र र जनजिविकाको अवस्था गम्भीर रहेको उनले दाबी गरे। पुरानो सत्ताको बिरुद्ध लडेको नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्धसँगै सरकारले कार्यकर्ता मार्न थालेको भन्दै तिब्र आक्रोश पोखे।

‘कुनैपनि पार्टीलाई प्रतिबन्ध गर्ने अधिकार सरकारलाई छैन’ उनले भने, ‘अब त मार्न थालेका छन्, पहिले भोजपुर त्यसपछि सर्लाहीमा घटना भयो, त्यो नितान्त गलत छ।’ सरकार लोकतन्त्रको नारा लगाउँदै अधिनायकवाद र फाँसीवादतर्फ अघि बढेको बताउँदै उनले नेकपा पार्टीभित्र समेत छलफल गर्न छाडेको बताए।

‘विचित्रको कुरा त लोकतन्त्र र जनतन्त्रको कुरा पार्टीमा पनि रहेनछ,’ उनले थपे, ‘विधेयकहरु आइरहेपनि त्यो विधेयकको बारेमा पार्टी र संसदीय दलमासमेत छलफल छैन, लोकतन्त्रको धज्जी उहाँहरुले नै उडाई रहनुभएको छ।’ नवउदारवाद र साम्राज्यवादको दलाली गरेर बजेट ल्याउने ओली सरकारले समाजवाद ल्याउँछु भन्नु हाँस्यादपद रहेको भन्दै उनले सच्चा कम्युनिष्ट एक हुने बेला आएको समेत बताए।

क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा ७७ जिल्लाका करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको लिगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस