दोहोरो भिडन्त

 

दोहोरो भिडन्तमा

किन कहिल्यै पनि मर्दैन सरकार

सँधैं किन नागरिकहरू मात्र मर्छन बा ?

एका बिहानै छोरीले सोधिन्

म के उत्तर दिने भनेर विचलित छु ।

 

दोहोरो भिडन्त

उहिल्यै पनि भयो सुखानीमा

त्यहाँ पनि सरकार मरेन

मात्र नागरिकहरू मरे !

 

छिन्ताङ र पिस्करमा पनि

भएका थिए दोहोरो भिडन्त

त्यहाँ पनि सरकारको भुत्लो झरेन !

 

दोरम्बा र भिमादमा

माझफाल र अनेकोटमा

धेरै ठाउँमा भए दोहोरो भिडन्त

हताहती एकोहोरो मात्र भयो ।

 

भर्खरै हिजो अस्ति

फेरि भयो अर्को दोहोरो भिडन्त

त्यहाँ पनि एकोहोरै मृत्यु भयो

सरकारको कोही मरेन !

 

सरकारले रचेका

दोहोरो भिडन्तका कथामा

सरकार नै नायक हुन्छ

यस्तो नायक कि,

एक थप्पड पनि नखाई उसले

खलनायकहरूलाई सोत्तर पार्छ ।

 

मरिसकेका चिसा हातमा

थमाएर एक थान कटुवा पेस्तोल

सरकारले अन्तिम दृश्य खिच्छ

र प्रसारण हुन्छ

त्यही अन्तिम दृष्य मात्र ।

 

त्यसपछि

रेडियो, टेलिभिजन

पत्रपत्रिका र अनलाइनहरूमा

सरकारी भर्त्सनाको प्रचार हुन्छ

फलानो ठाउँमा

सुरक्षा फौजसँगको दोहोरो भिडन्तमा

यति आतङ्ककारी ठहरै !

 

म मनमनै यही सोचिरहेको हुन्छु

छोरी फेरि सोध्छिन्,

भन्नुस न बाबा ?

भिडन्त चाहिँ दोहोरो हुने

मान्छे चाहिँ एकोहोरो मर्ने

यस्तो कसरी हुन्छ ?

 

मेरो एकाग्रता भत्किन्छ

झल्याँस्स हुन्छु

छोरी मतिर हेरिरहेकि छिन्

पढ्ने बेलामा गुच्चा खेलेर

परीक्षामा कलम टोकेर बस्ने

आवारा विद्यार्थीझैं

म केवल टोलाइरहन्छु ।

 

मेरो बाबा त नट्टी

यति सोधेको पनि बोल्नु हुन्न ?

छोरी रिसाउँछिन्

म छोरीलाई सम्झाउँछु

त्यो दोहोरो भिडन्त थिएन छोरी

त्यो भिडन्त पनि थिएन

त्यो त मान्छेलाई समाएर

मार्ने काम हो छोरी ।

 

त्यसो भए

सरकार नट्टी हो त बाबा ?

छोरीको प्रश्न ।

 

हो, मेरी ज्ञानी छोरी हो

दोहोरो भिडन्त

सरकारको नट्टी खेल हो

मेरो जवाफ ।

 

प्रतिक्रिया दिनुहोस