आस्थाका बन्दी रिहा गराउन नेकपाको दबाबमूलक सङ्घर्ष

माग ९, काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीले विभिन्न किसिमका झूट्टा मुद्दा लगाई जेल र हिरासतमा राखेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई रिहा गराउन दबाबमूलक सङ्घर्ष गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई वली–प्रचण्ड सरकारले गैरन्यायिक ढङ्गले नख्खु जेलमा राखेको छ । सरकारले उनलाई गतवर्ष चैतदेखि ललितपुर नख्खुमा रहेको नख्खु केन्द्रीय कारागारमा थुनामा राखिएको हो ।

यस्तै नेकपाकी केन्द्रीय सदस्य तथा जनप्रतिनिधिसभाकी अध्यक्ष (सभामुख) उमा भुजेललाई पुस १२ गते सुनसरी जिल्लाबाट गिरफ्तार गरेर इनरुवा जिप्रका हिरासतमा राखिएको छ । पूर्वसभासद्समेत रहेकी भुजेल चर्चित गोर्खा जेलब्रेककी कमान्डर पनि हुन् । त्यसैगरी केन्द्रीय सदस्य चन्द्रप्रकाश चन्द ‘वीरजङ्ग’ लाई असोज ३० मा दाङबाट गिरफ्तार गरेर दाङ जेलमा राखिएको छ । त्यसैगरी अर्का नेता भरत वम ‘रणवीर’ लाई जेठ १२ मा बाँकेबाट गिरफ्तार गरेर बाँके कारागारबाट सरुवा गरी हाल बर्दिया जिल्ला कारागारमा थुनामा राखिएको छ । रणवीरलाई बाँके कारागारमा समेत यातना दिइएको थियो ।

त्यसैगरी नेता सुदर्शनसहित चैतमा काभ्र, तालढुङ्गा क्षेत्रबाट प्रज्वलनलाई गिरफ्तार गरिएको हो । उहाँलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि सरकारले झूट्टा मुद्दा लगाएर रूपन्देही जेलमा बन्दी बनाएको छ । त्यसैगरी अर्का केन्द्रीय सदस्य माइला लामालाई काठमाडौँबाट गिरफ्तार गरेर हाल नख्खु केन्द्रीय कारागारमा बन्दी बनाइएको छ । त्यसैगरी नेता वीरजङ्गसहित गिरफ्तार गरिएका केसबहादुर बाठा ‘सुवास’ लाई दाङ जेलमा नै बन्दी बनाइएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बन्धु चन्दलाई ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान २, २०७६’ का क्रममा अछाम जिल्लाबाट गिरफ्तार गरेर विभिन्न जेल सरुवा गर्दै हाल धनगढीमा राखिएको छ ।

त्यसैगरी केन्द्रीय सदस्य चूडामणि वली ‘आदर्श’ लाई बाजुराबाट गिरफ्तार गरेर जिल्ला कारागारमा बन्दी बनाइएको छ । उहाँलाई केही दिनअघि मात्र रिहा गरिएको थियो । त्यसैगरी केन्द्रीय सदस्य हितमान र नेता दीपेश राईलाई क्रमशः काठमाडौँ र उदयपुरबाट गिरफ्तार गरी बन्दी बनाइएको छ । गिरफ्तार गरिएको समयमा नेता सुदर्शन मध्यकमान्ड इन्चार्ज उमा भुजेल ‘शिलु’ मेची–कोसी ब्युरो इन्चार्ज, वीरजङ्ग पश्चिम कमान्ड संयोजक, भरत वम ‘रणवीर’ स्कुलिङ विभाग, माइला लामा र हितमान विक ‘नवीन’ उपत्यका इन्चार्ज, सुवास राप्ती ब्युरो इन्चार्ज, वसन्तकुमार श्रेष्ठ ‘प्रज्वलन’ पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज, बन्धु चन्द महिला मोर्चा अध्यक्ष, चूडामणि वली ‘आदर्श’ न्याय विभाग प्रमुख थिए ।

हरेक परिवर्तन र क्रान्तिले त्याग र बलिदानको माग गर्दछ । नेकपाका शीर्ष नेतादेखि सयौँ कार्यकर्ताहरू जेल र हिरासतमा बसेर जेल–हिरासत मोर्चाबाट क्रान्तिका निम्ति लडिरहेका छन् । त्यसको राप, ताप र आदर्शले बाहिरी भौतिक मोर्चा झन्झन् प्रज्वलित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस