१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गर्नु भएको छ । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गर्नु भएको हो ।
उहाको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाउनु भएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहनु भएका वामदेव गौतमलाई भने राखिएको छ ।
साबिकको नेकपामा स्थायी कमिटीमा रहनु भएका पूर्व माओवादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई पनि स्थायी कमिटीमा समोवश गरिएका छन ।
उनीहरूबाहेक महासचिव ईश्वर पोखरेलका साथै विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल छन् ।
एमाले अध्यक्ष ओलीले बनाएको स्थायी कमिटीमा पार्टीमा समानन्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहलाई भने स्थान दिइएको छैन ।
नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता हुुनुहुन्थ्यो भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव हुनुहुन्थ्यो । सुरेन्द्र पाण्डे र बेदुराम भुसाल स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो ।
अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा पनि पदेन स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो । साबिकको नेकपामा रघुजी पन्त पनि स्थायी कमिटीमा हुनुहुन्थ्यो । तर, उहाहरु कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन ।
२३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । २८ फागुनमा आफ्नो समूहका नेताहरुको बैठक राखेर अध्यक्ष ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक एमालेका पदाधिकारी हटाउनु भयो भने स्थायी कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाउनु भएको थियो । तर अहिले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ ।