गृहमन्त्री ‘बादल’लाई जनार्दनको प्रश्न: कुमार पौडेलको हत्या किन ?

असार ८, काठमाडौं । काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्या किन भनेर प्रश्न सोध्नु भएकाे छ ।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उहाँले गम्भीर आपत्ती जनाउनु भएकाे हाे । उहाँले नियन्त्रणमा लिएर हत्या गर्नुको कारण गृहमन्त्री थापासंग माग गर्नु भएको छ ।

उहाँले भनुभयाे,  निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । मलाई त्यो बेला धनमायाको हत्याको याद आयो।’

पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो ।’ शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्न उठने सक्ने बताउनु भयाे । नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाउनु भयाे ।

उहाँले भनुभयाे,  ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ । यसमा सरकारको ध्यान जाओस् ।’,

पुर्व गृहमन्त्री समेत रहेका शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गर्नु भएको छ ।

यस्तै बैठककमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडु र डीला संग्रौलाले सरकारका काम कारवाहीले गणतन्त्रप्रति नै जनताको विश्वास घट्न थालेको बताउनु भयाे ।

‘सरकार जनताको मन छुने काम गर्न भन्दा पनि जनतालाई आघात पुग्ने निर्णय गर्न थालेको छ । यसले कसैलाई फाइदा पुग्दैन,’ बडु र संग्रौलाको भनाई छ ।

समितिमा सर्लाही घटनाबारे भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले घटनाबारे सत्यतथ्य जानकारी गराउन सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई समितिमा बोलाउने जानकारी दिनुभयाे । नेता पौडेलको गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

यो घटनामा प्रहरीले इन्काउन्टरमा पौडेलको मृत्यु भएको भनेपनि इन्काउन्टर नभई समातेर गोली हानिएको भन्दै त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस