पाँचथर हत्याकाण्ड: सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार

जेठ ११, काठमाडौँ । सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भीमकुमार बाँस्कोटाले लेखेका छन् ।

 

प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ छ।

वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा आठ जना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो। नुनमा सिसा मिसाउनेविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको स्थानीय सीता घिमिरेको भनाइ छ। ‘सिसा मिसाउनेविरुद्धको जाहेरीलाई प्रहरीले चासो दिएन’, घिमिरे भन्छिन्, ‘उक्त घटनालाई गम्भीर रूपमा नलिएकाले नौ जनाले ज्यान गुमाउनुपरेको हो।’

जस्मिता फियाकका श्रीमान् धनराज शेर्माले साढुभाइ मानबहादुर माखिमविरुद्ध प्रहरीमा उजुरी दिएको स्थानीयले जानकारी दिएका छन्। धनराजको सोमबार राति वंशनाश हुनेगरी हत्या भएको हो। उनका साढुभाइ माखिम झुन्डिएको अवस्थामा भेटिए। जाहेरी दिनेको परिवार सखाप हुनेगरी हत्या भएको र सिसाकाण्ड मच्चाउने भनिएका माखिम जीवित नभएपछि घटना झन् रहस्यमय बनेको छ।

‘जाहेरी दिएपछि सम्बन्धित मान्छेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपथ्र्यो’, आरुबोटे माविका शिक्षक गजेन्द्र रेग्मीले भने, ‘अनुसन्धान गर्नुको सट्टा ढाकछोप गर्न खोज्दा यति ठूलो घटना भएको हो।’ सिसाकाण्ड ढाकछोप गर्न केही जनप्रतिनिधिसमेत लागेको उनको भनाइ छ। ‘परिवारभित्रको कुरा मुद्दा मामिलामा जानु हँुदैन भनेर जनप्रतिनिधि नै ढाकछोप गर्न लागेका थिए’, एक स्थानीयले भने।

प्रहरीलाई दबाबमा पारेर सिसाकाण्ड अनुसन्धान रोकिएको स्थानीयको आरोप छ। ‘दर्दनाक घटनाले सारा मान्छेलाई रुवाएको छ’, स्थानीय गीता ढकालले प्रश्न गरिन्, ‘तर, यो क्षेत्रबाट चुनाव जितेर जाने कुनै सांसद र मन्त्री सान्त्वना दिनसम्म आएनन्। नेता घटनाको अवलोकन गर्न नआउनुको कारण के हो ? ’

‘सिसाकाण्ड जानकारी मात्रै’

ससुरा–ज्वाइँको परिवारका नौ जनाको हत्या भएपछि सिसाकाण्डको विषयमा चर्को आवाज उठेको हो। जाहेरी दिने भनिएका धनराज शेर्माको वंशनाश हुनेगरि हत्या भएपछि घटना रहस्यमय बनेको हो। धनराजले किटानी जाहेरी दिएको स्थानीयको भनाइ छ। तर, प्रहरीले भने धनराजले जाहेरी नभई जानकारी मात्रै दिएको जनाएको छ। ‘नुनमा सिसा मिसाउनेविरुद्ध किटानी जाहेरी थिएन’, पाँचथरका डीएसपी नरेन्द्र कुँवरले भने, ‘सिसाकाण्डको विषयमा प्रहरीलाई सामान्य जानकारी मात्रै थियो।’

जाहेरीको विषयमा प्रहरी र जनप्रतिनिधिको एउटै बोली छ। एकथरी स्थानीय जनप्रतिनिधिको मिलेमतोमा प्रहरीले जाहेरी गायब बनाएको आरोप लगाइरहेका छन्। जाहेरीका विषयमा अनुसन्धान अघि बढाउनुपर्ने स्थानीय अगुवाले माग गरेका छन्। ‘सिसाकण्डमा जनप्रतिनिधि र प्रहरीको गद्दारी देखिन्छ’, जीवनकुमार फियाकले प्रश्न गरे, ‘नागरिकको जिउ ज्यानको सुरक्षा गर्ने दायित्व प्रहरी र जनप्रतिनिधिको हो। यत्रो काण्ड मच्चिँदा पनि प्रहरी र जनप्रतिनिधि मौन बस्नुको कारण के हो ? ’

इलाका प्रहरी कार्यालय रविमा जाहेरी दिएको स्थानीयको दाबी छ। तर, रविका इन्स्पेक्टर तेजनारायण यादवले जाहेरी नआएको बताएका छन्। ‘धनराज शेर्माले जानकारी चाँही दिएका हुन, जाहेरी दिएका हैनन’, यादवले भने, ‘जानकारी आएपछि मैले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थिएँ।’ जनप्रतिनिधिले परिवारभित्रको कुरा मिलाउन भनेपछि अनुसन्धान अघि नबढेको बताइएको छ।

सिसाकाण्डबारे अनुसन्धान भइरहेका बेला हत्याकाण्ड मच्चिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमको भनाइ छ। ‘सिसाकण्डदेखि नै हामी गम्भीर थियौं’, उनले भने, ‘भित्री रूपमा अनुसन्धान अघि बढिरहेका बेला यत्रो नरसंहार भयो।’ हत्याकाण्डबारे निष्पक्ष अनुसन्धान अघि बढेको उनको भनाइ छ।

अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयका टोली खटिएका छन्। प्रहरीले बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमले हत्या गरेर आत्महत्या गरेको अनुमान गरेको छ। माखिम झुन्डिएको ठाउँ नजिकै उनले प्रयोग गरेको मोबाइलको सिम भेटिएकाले उनले कोसँग संवाद गरेका थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसरी बाहिरियो सिसाकण्ड

मिक्लाजुङ–३ आरुबोटेमा ढाका बुनाई तालिममा स्थानीय महिला सहभागी थिए। तालिममा सहभागीले वैशाख ३० गते थुक्पा खाजा खाएका थिए। विगतको अन्दाजले खाजामा नुन थप्दा नुन लागेको थिएन। सबैले नुन थप्दै खाजा खाए। ‘पेट पोलेको, दिसामा रगत देखिएको र खाना मन नलागेको भन्दै बिरामी उपचार गर्न आएका थिए’, स्वास्थ्यचौकीमा कार्यरत अनमी सम्झना राईले भनिन्, ‘उपचारमा आएकालाई थप उपचार गर्न जिल्ला पठाइएको थियो।’

थुक्पा खाजा खाएको तीन दिनपछि बिरामी उपचारका लागि सदरमुकाम फिदिम आएका थिए। स्वास्थ्यचौकीमा उपचार गर्न आएपछि वडा कार्यालय र प्रहरी चौकीमा जाहेरी दिन लगाएको राईले बताइन्। ‘सिसा मिसाउनेविरुद्ध जाहेरी दिएको हुनुपर्छ’, राईले भनिन्, ‘त्यतिखेर तयार पारिएको जाहेरी प्रहरीमा पुगेन भने कहाँ पुर्‍याइयो र कसरी रोकियो अनुसन्धान हुनुपर्छ।’ सिसाकाण्ड भएको दुई सातासम्म अनुसन्धान नएपछि स्थानीय सशंकित भएका छन्।

र यो पनि 
आरुबोटे हत्याकाण्डमा खुल्यो यस्तो रहस्य, अब के होला ?

पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा माधव घिमिरे र लीलाबल्लभ घिमिरेले लेखेका छन् । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । ससुराली गाउँ आरुबोटेमा मानबहादुर हत्या घटना हुनुभन्दा दुई घण्टाअघि पुगेको प्रहरीले अनुमान गरेको छ ।

हत्या घटना राति साढे १० देखि साढे १२ बीच भएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीका प्रमुख एसपी उमा चतुर्वेदीले बताए । उनीसहितको तीन सदस्यीय टोली र स्थानीय प्रहरीसमेतको संलग्नतामा अनुसन्धान जारी छ ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार अनुसन्धानक्रममा घटनास्थल, गाउँका विभिन्न स्थान र आफन्तको निगरानीजस्ता काममा करिब ७५ प्रहरी परिचालित छन् ।

शुक्रबारसम्म सीआईबीको टोलीले २५ जनाभन्दा बढीसँग घटना र त्यसअघिको परिस्थितिबारे सोधपुछ गरिसकेको छ । अझै केही दिन सोधपुछ र अनुसन्धानको क्रम जारी रहने चतुर्वेदीले बताए । ‘हालसम्म घटनामा एकजना मात्र संलग्न रहेको प्रमाण भेटिएको छ’, उनले भने, ‘अरू कोही संलग्न थिए, थिएनन् भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार घटनापछि बिहानको ३ बजे एकजना आफन्तलाई फोन गरी आवश्यक परेको छ भन्दै रकम मागेका थिए । कोसँग मागेको भन्ने प्रहरीले खुलाएको छैन । घटनास्थलको प्रकृति र अन्य पक्षहरू अध्ययनपछि मानबहादुरले बिहान साढे ३ देखि ५ बजेभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुमान छ ।

अनुसन्धानमा संलग्न पाँचथरको टोलीका एक सदस्यका अनुसार यतिन्जेलसम्मको अध्ययन/अनुसन्धानबाट मानबहादुर सबैभन्दा पहिले साढुदाइ धनराज सेर्माको घर गएका थिए । त्यहाँ सुरुमा उनले धनराजलाई त्यसपछि परिवारका अरू चारजनालाई खुकुरी प्रहार गरेको घटनास्थलमा संकेत पाइएको प्रहरीको भनाइ छ ।

४१ वर्षीय धनराजको घरका उनीसहित ३६ वर्षीया श्रीमती जस्मिता र तीनजना बालिकाको हत्या भएको थियो । त्यसपछि मानबहादुर करिब एक किलोमिटर दूरीमा रहेको ससुरा ७४ वर्षीय बमबहादुर फियाकको घर पुगेका थिए । त्यहाँ उनले सुरुमा बमहादुरमाथि आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार त्यसक्रममा बमबहादुरले पनि खुकुरी निकालेर प्रतिकार गरेको पाइएको छ । घटनास्थलमा उनले प्रयोग गरेको भनिएको खुकुरी उनकै शवछेउ भेटिएको थियो ।

आक्रमण गर्ने भनिएका मानबहादुरको हातको एउटा औंलामा गहिरो गरी काटिएको चोट त्यसबेलाको प्रतिकारमा भएको ठम्याइ अनुसन्धान टोलीको छ । बमबहादुरसहित उनकी श्रीमती र छोरी र एक बालिकाको हत्या भएको थियो ।

भागेर बाँच्न सफल बमबहादुरकी १२ वर्षीया नातिनी सीता खुजुम आक्रमण सुरु भएपछि हजुरबुबाले प्रतिकार गरेकै बेला भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय र केही आफन्तसँगको कुराकानीमा प्रहरीले मानबहादुर डिप्रेसनको समस्याबाट ग्रस्त रहेको पाइएको जनाएको छ ।

उनले यो समस्याबारे विराटनगरमा जाँच गरेर दुईखाले औषधि खाने गरेका थिए । औषधिको नाम प्रहरीले खुलाएको छैन । डाक्टरले लामो समयसम्म औषधि खानुपर्छ र चाँडै निको हुँदैन भनेकाले आफू चिन्तित रहेको मानबहादुरले आफन्तलाई सुनाउने गरेका थिए ।

घटनाको करिब ६ महिनाअघि श्रीमती मनकुमारीले सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन् । यसपछि मानबहादुर बढी तनावमा रहेको स्थानीयको भनाइ छ । उनीहरूको २०६८ सालमा मागी बिहे भएको थियो । बिहेअघि मानबहादुर २ वर्ष मलेसिया बसेर फर्केका थिए ।

मनकुमारीले विराटनगरस्थित नोबेल अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी थिइन् । तीमध्ये एकजनाको अस्पतालमै र अर्कीको घर पुगेपछि मृत्यु भएको थियो । यसै बेलादेखि मानबहादुरमा निराशाको संकेत देखिन थालेको उनका निकट साथीभाइ र आफन्तले प्रहरीले गरेको सोधपुछका क्रममा बताएका छन् ।

त्यसको केही समयपछि फेरि मलेसिया गएका थिए । मलेसिया गएको केही समयपछि श्रीमतीले आफ्नो पेटमा बच्चा भएको टेलिफोनमा जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस