पार्टी काममा मुख्यमन्त्रीले चढेको हेलिकोप्टरको खर्चबारे विवाद

असार १०, हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल चढेको हेलिकोप्टरको खर्च कसले तिर्ने भन्नेमा विवाद बढेको छ । याे समाचार नवराज महताराले सीआईएन खबरमा लेख्नु भएको छ ।

नेकपा जिल्ला कमिटि हुम्लाको पहिलो बैठकमा सहभागि हुन नेपाली सेनाको हेलिकप्टरबाट सिमकोट विमानस्थलमा उत्रदै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल


 

पार्टीको बैठकमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेपछि त्यो रकम कुन ठाउँबाट तिराउने भन्नेमा अन्यौल देखिएको छ । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा हेलिकोप्टरबाट गर्नु भएको हो ।

हरेक दिन नेपालगञ्ज र सुर्खेत देखि नियमित २ दर्जन भन्दा बढी हवाई उडान भरिरहेका बेला मुख्य मन्त्री र मन्त्री सहितले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नुभएको हो ।

गएको शनिबार सम्पन्न हुम्ला जिल्ला कमिटिको बैठकका लागि सिमकोट नेपाली सेनाको 9-N-RA-I हेलिकोप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्य मन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल सिमकोट पुग्नु भएको हो ।

एक दिन सिमकोटमा बसेका मुख्यमन्त्री शाही लगायतका नेकपा नेता त्यही हेलिकोप्टरमा सिमकोट हुँदै मुख्य मन्त्री शाहीको गृह जिल्ला कालिकोट फर्किनुभएको हो ।

प्रदशेका अपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा भएको हेलिकप्टरलाई मुख्य मन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गर्नुभएको हो ।

नेकपाको बैठकको मौका पारेर हुम्लाको ताँजकोट गाउँपालिकामा ८ गते हुने भनिएको मदिरा मुक्त गाउँपालिका घोषणा कार्यक्रम भएको थियो । तर अन्तिममा घोषणा कार्यक्रम हुन सकेन ।

कार्यक्रमका लागि मुख्य मन्त्री शाही सहितका नेकपा नेताहरुलाई समेत निमन्त्रणा गरेर ताँजकोट गाउँपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले व्यहोर्ने योजना बनेपनि घोषणा कार्यक्रम नभएपछि पार्टी कामकै लागि हेलिकोप्टर प्रयोग भएको हो ।

ताँजकोट गाउँपालिका अध्यक्ष बगदल मल्लले भने गाउँपालिकाबाट भुक्तानी नहुने बताउनुभयो । गाउँपालिकाले आयोजना गरेको मदिरा मुक्त कार्यक्रममा मुख्य मन्त्री र अन्य नेताहरु गएको भए पालिकाले व्यहोर्ने निर्णय भएपनि वर्षाका कारण कार्यक्रम नभएपछि पालिकाले त्यो रकम नब्यहोर्ने बताउनुभयो ।

पार्टीको कार्यक्रममा मुख्य मन्त्री र मन्त्री आएकोले पार्टीले नै व्यहार्नुपर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो । तर यस विषयमा नेकपा हुम्ला अध्यक्ष लालकेश जैशीले पनि इन्कार गरे ।

प्रदेश पार्टीले व्यहोर्ने भन्ने बारेमा नेकपा प्रदेश अध्यक्ष गोरख बोगटीले आफूलाई थाहा नभएको भन्दै अनविज्ञता प्रकट गर्नुभयो । प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीसँग् आएको हेलिकोप्टरमा पार्टीले नब्यहोर्ने भन्दै अध्यक्ष बोगटी भन्नुभयो, ‘यसबारे मुख्य मन्त्रीको कार्यालयलाई नै सोध्नुहोला । मलाई जानकारी छैन । ’

मुख्य मन्त्री कार्यालयले पनि यसबारेमा जानकारी नभएको बताएको छ । मुख्य मन्त्रीको कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्ययले असार ३ गते हुम्लाको खार्पुनाथमा भएको जीप दुर्घटनाका बारेमा स्थलगत अध्ययन गर्न जाने भन्ने जानकारी बाहेक अन्य केही थाहा नभएको बताउनुभयो ।

मुख्य मन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले हुम्लामा आएर खेल मैदानको सिलान्यास बाहेक अन्य कुनै सरकारी कार्यक्रममा सरिक हुनुभएन ।

हुम्लाबाट फकिर्ने क्रममा सिमकोटमा भएको खेल मैदानको सिलान्यास कार्यक्रम पनि पुर्व योजना थिएन । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले अचानक मैदान सिलान्यास भएको बताउनुभयो ।

जिल्ला खेल मैदानको नाममा आएको रकम सिधैं गाउँपालिका मार्फत खर्च भएको अध्यक्षको भनाई छ । उहाँले भन्नुभयो, ‘खेल मैदानको सिलान्यास गर्ने तय भएको कार्यक्रम होइन् ।

यो त सामाजिक विकास मन्त्रीले पछि रकम माग्न सजिलो हुन्छ सिलान्यास गर्ने व्यवस्था गर भनेपछि हतारमा तय गरिएको हो ।’ उहाँका अनुसार खेल मैदान सिलान्यास गर्ने कार्यक्रम मुख्य मन्त्री र मन्त्रीको पनि पुर्व निर्धारित होइन् ।

हेलिकोप्टरको भाडा कसले व्यहोर्ने भन्ने बारेमा सामाजिक विकास मन्त्रालयले पनि अनविज्ञता प्रकट गरेको छ । ‘मन्त्री ज्यू गएको बारेमा मात्रै जानकारी छ’ मन्त्रालयका सूचना अधिकारी मणीराम खनालले भन्नुभयो,’हेलिकोप्टरको भाडाका बारेमा मलाई कुनै जानकारी छैन् ।’

सामाजिक विकास मन्त्रालयका लेखा प्रमूख लालबहादुर खत्रीले मुख्य मन्त्री, सामाजिक विकास मन्त्री सवार हेलिकोप्टरको भाडा ताँजकोट गाउँपालिकाले व्यहोर्ने कुरा मन्त्रीबाट आफूले जानकारी पाएको बताउनुभयो । मन्त्रालयमा त्यस्तो कार्यक्रम भएको छैन खत्रीले भन्नुभयो, ‘यसको थप कुरा मन्त्री ज्यूबाटै बुझदा होला । ’

हेलिकोप्टर प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नोपाली सेनाको हेलिकोप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको नेपाली सेनाको एक स्रोतले जानकारी दिएको छ ।

७ गते शनिबार बिहान ११ बजे सिमकोट पुगेको हेलिकप्टर ८ गते अपरान्ह साढे ५ बजे सिमकोटबाट कालिकोट हुँदै सुर्खेत गएको थियो । सेनाले भने ३ लाखको बि लबनेको र प्रदेश सरकारले भाडा तिरिसकेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस