नेपालमा दलाल पुँजीवादका कारण सरकार र अर्थतन्त्र अस्थिर भयोः प्रकाण्ड सी

बसन्त विक

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादका कारण नेपालको सरकार र अर्थतन्त्र अस्थिर भएको बताउनु भएको छ ।
नेकपा दैलेखले जिल्लाको राकम कर्णालीमा विहिवार विहान आयोजना गरेको स्थानीय जनतासंगको ‘भेटघाट कार्यक्रम’लाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादका कारण सरकार र अर्थतन्त्र अस्थिर भएको बताउनु भएको हो ।
उहाँले भन्न भयो ‘नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवाद हो । दलाल पुँजीवादी सत्ताका कारण देशको स्थिति राम्रो छैन । सरकार ढाल्ने खेल मात्र छ । अर्थतन्त्र डामाडोल र अस्थिर छ । यति ठुलो संकट देशमा कहिल्यै आएको थिएन ।’

‘दलाल पुँजीवादी सत्ताको जनविरोधी नीतिका कारण देशमा अर्थतन्त्र संकटमा गएको छ कुर्सीका लागि अपराध बढेको छ’ उहाँले भन्नु भयो, ‘यो भ्रष्टाचारी जोगाउने र कमिशन खाने सरकार हो । यो सरकारले हत्या, आत्महत्या, बलात्कारका घटनाहरु नियन्त्रण गर्न सक्दैन । दिनप्रति दिन दुर्घटनाहरु भईरहेका छन । यसको नियन्त्रणको योजना छैन । यो जनतातिर फर्किएको सरकार नै होइन ।’

बाँकेमा धान रोपाई गरेर कालिकोटको मान्म जाने क्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सीले स्थानीय व्यापारी, कर्मचारी,राजनैतिक दलका नेता कार्यकर्ताहरुसंग भेटघाट गर्नु भएको हो । उहाँले भेटघाटमा नेपालका दलालहरु विदेशीहरुका एजेण्ड भएको आरोप लगाउनु भयो । उहाँले प्रचण्ड नेतृत्वको सरकार भारतीय साम्राज्यवादका नाईके मोदीले ढालेको पनि खुलासा गर्नु भयो ।

उहाँले दलाल पुँजीवादी सत्ताले नेपालमा कुनै पनि जनताको पक्षमा विकास निमार्णका कामहरु गर्न नसक्ने ठोकुवा गर्नु भयो । प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘नेपालमा आफ्नै संसद भवन समेत छैन,राज्यले जनताको लागि के विकास र निर्माण गर्न सक्छ ? श्रम गर्ने जनताको सत्ता आएको छैन, यो दलाल पुँजीवादी शासकहरुको सत्ता हो । यो सत्ताबाट जनताको विकासको कल्पना गर्नु वाईजात हो । जनताको सत्ता ल्याउने अभियानमा साँटघाट गरियो र जनताले धोका पाए । धोका पाएका जनताको सपना हामीले पुरा गर्छौ । एक मात्र जनताको क्रान्तिकारी पार्टी नेकपा हो ।’

उहाँले दैलेखी जनताले महान जनयुद्ध र क्रान्तिकारी नेतालाई जहिले पनि नजिकबाट साथ र सहयोग गरेको स्मरण गर्नु भयो । प्रवक्ता प्रकाण्डले अबको देशको संकटको निकास बैज्ञानिक समाजवाद मात्र भएको जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो ‘अबको राज्य समाजवादी राज्य हो । त्यो नेपाली जनताले ल्याउनु पर्छ । त्यसका लागि सम्पूर्ण कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हुनु पर्छ । देशमा नेकपाको नेतृत्वमा समाजवादी व्यवस्था बनाउनु पर्छ ।’

भेटघाटमा सहभागी स्थानीय व्यापारी,बुद्धिजीवी,राजनीतिक दलका प्रतिनिधिहरुले नेकपाले उठाएको मुद्धा सहि भएको भन्दै आफूहरु एकपटक साथ दिन तयार भएको बताएका थिए । उनीहरुले नेकपाले पनि विगतमा बेला –बेला जनतालाई विभिन्न नेता तथा पार्टीबाट खानु परेका धोकाहरु नदोहोर्याउन सुझाव दिएका थिए ।

भेटघाटमा नेकपाका केन्द्रीय सदस्य विवेक सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी र केन्द्रीय सदस्य अर्जुन सी लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । भेट्घाटको सहजीकरण नेकपाका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज कलम सीले गर्नु भएको थियो । भेटघाट अघि प्रवक्ता प्रकाण्डलाई स्थानीयवासीले भव्य स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस