उत्सव मनाउने दिनमा सामूहिक हत्याले लाेकतन्त्रकाे खिल्ली उडायाे : सांसद विशुन्के

जेठ १४, काठमाडौं । प्रतिनिधिसभा सांसद पार्वती विशुन्केले संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ पास भएको दिन जेठ १० गते सामूहिक हत्या भएको प्रति ध्यानाकर्षण गराउनु भएकाे छ ।

प्रतिनिधि सभाको आइतबारको वैठकमा बोल्दै विशुन्केले रुकुममा अन्तरजातीय प्रेमका कारण जाजरकोटी युवाको हत्या हुनुले देशमा आएको गणतन्त्रको खिल्ली उडाएको बताउनु भएकाे छ ।

उहाँले भन्नु भयाे, ‘तत्कालिन व्यवस्थापिका संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ जेठ १० गते पास भएकै दिन, उत्सवको रुपमा मनाउनु पर्ने दिन जातकै कारण ६ जनाको सामुहिक हत्या गरियो।’

विशुन्केले तत्कालिन माओवादीले देखाएको समानाताको विपरित माओवादीको सुरुवात भएकै जिल्लामा जातका कारण ज्यान गुमाउनु दुर्भाग्य भएको जिकिर गर्नु भयाे । उहाँले भन्नु भयाे, ‘जहाँबाट उत्पीडनमा परेका वर्ग समुदायले अपनत्व गर्ने शासन सत्ता ल्याउनु पर्छ भनि सुनौला सपना वाडेर तत्कालिन माओवादी पार्टीले जनयुद्धको घोषण गरेको थियो । त्यो जनयुद्धमा शहिद भएको दलितको सपना यही थियो र ? सभामुख महोदय जातकै कारण मारिने?’

दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा दलित समुदायको भुमिका स्मरण गराउँदै सांसद विशुन्केले भन्नु भयाे, ‘अन्तरजातिय प्रेम गर्नुको सजाय मारिनु हो, यो जत्तिको मानव सव्यताका लागि अमानवीयता र बर्बरता के हुन सक्छ ? हामीले कस्तो व्यवस्था ल्यायौं, हामीले रगत बगाउनुको उद्देश्य यो थिएन र होइन पनि, सरकार अब जनतालाई शास्त्र घोकाउने होइन कानून घाेकाउ, शामन्तबाद घोकाउने होइन समाजवाद घाेकाउ, बर्बता होइन, भातृत्व सृजना गर्न सिकाउ, मानव मार्ने होइन उसको जिउन पाउँने अधिकार छ भन्ने सिकाउ।’

प्रतिक्रिया दिनुहोस