१५ माघ, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो ।
अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल मिसिलसहित उपस्थित हुन पनि भनेको छ ।
बाँस्तोलालाई २८ पुसमा मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको थियो । हाल ललितपुर प्रहरी परिसर, जावलाखेलमा राखिएको छ ।