१५ चैत्र, काठमाडौ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिक्मत भए नेपाली नागरिकको हैशियतमा दल खोलेर चुनावमा आउन चुनौती दिनु भएको छ ।
समाजवादी मोर्चा नेपालको शुक्रवार काठमाडौमा आयोजित विशाल जनसभालाई स्वागत मन्तव्यद्धारा सम्बोधन गर्दै उपाध्यक्ष भुसालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हिक्मत भए दल खोलेर चुनावमा आउन चुनौती दिनु भएको हो ।
उहाँले ज्ञानेन्द्र शाहले चुनावबाट वहुमत ल्याउन सके त्यसको परिणाम आफूहरुले स्वीकार गर्न तयार भएको बताउनु भयो ।
उपाध्यक्ष भुसालले दशौ हजार सहिदको रगतबाट आएको गणतन्त्र विरुद्ध राजावादीहरुलाई चलखेल नगर्न चेतावनी दिनु भयो ।
उपाध्यक्ष भुसालले एमाले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गरेको बताउदै वर्तमान सरकारले संविधान कार्यान्वयनको विपक्षमा गतिविधि गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले नेपालमा जनता रैती बन्न तयार नरहेको दाबी गर्दै अग्रगामी निकास समाजवाद भएको दाबी गर्नु भयो ।