दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन विप्लवको आह्वान

११ भाद्र काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आगामी १३ गते दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन सबैलाई आह्वान गर्नु भएको छ ।

नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा सोमवार आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो आह्वान गर्नु भएको हो ।

उहाँले एमसीसी परियोजना नेपालका लागि सैन्य मोर्चा भएकाले त्यस विरुद्ध नेपाललाई माया गर्ने शक्तिहरुको सड्कबाट नयाँ मोर्चा बनाउनु पर्ने पनि बताउनु भयो ।

उहाँले एमसीसी भनेको आर्थिक सहयोग, उद्धार र विकासको प्रोजेक्ट नभई यो अमेरिकी साम्राज्यवादको नेपाल विरुद्धको सैन्य मोर्चा भएको ठोकुवा गर्नु भयो ।

उहाँले नेपालमा अमेरिका ५५ करोड दिन नभएर नेपालको सबै चिज लुट्न आउन खोजेको दाबी गर्दै भन्नु भयो “भूमण्डलीकृत साम्राज्यवादी नीति अनुसार नेपाललाई कब्जा गर्न एमसीसी आएको छ । यो सम्झौता विरुद्ध नेपाली सेना उठनु पर्छ । देशभक्त, क्रान्तिकारीहरु उठ्नुपर्छ । विदेशीको अनुदानको लोभमा सेनाले बन्दुक चलाउनु हुँदैन ।”

महासचिव विप्लवले देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै भएको भन्दै अझै पनि एमसीसी कार्यान्वयन गर्न सजिलो नभएको बताउनु भयो ।

महासचिव विप्लवले एमसीसी कार्यान्वयन गर्ने नाटक नगर्न एमसीसीका मतियारहरुलाई चुनौती दिदै भन्नु भयो “यो कुनै पनि हालतमा कार्यान्वयन गर्न दिने छैनौ । एमसीसी भनेको नेपालको दलाल संसदहरुले पारीत गरेपनि नेपाली जनताले भने पारित गरेका छैनन् ।”
महासचिव विप्लवले नेपाल गौतमवुद्धको शातिपूर्ण देशमात्र नभएको भन्दै यो देश साम्राज्यवादी डाँकाहरुलाई तरवारले काट्ने देशको इतिहास भएको पनि बताउनु भयो ।

उहाँले नेपालमा कुनै पनि हालतमा भाद्र १३ गते एमसीसी कार्यान्वयन गर्ने सरकारको योजना असफल पार्ने योजनाका लागि सबै सड्कमा आउन अपिल गर्नु भयो ।

विप्लवले एमसीसी भनेको नेपाली जनताको शत्रु भएकाले नेपालमा यस विरुद्ध प्रतिवाद हुने चेतावनी दिदै एमसीसी परियोजना नेपालबाट फिर्ता गर्न अमेरिकालाई आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो “सहयोग गर्ने भए अमेरिकालाई पुनः सम्झौता गर्न तयार होउ । तर नेपालको हितमा मात्र सम्झौता गरिहोस् । मुस्ताङ रसुवादेखि पाल्पासम्म व्यारेक राख्न अमेरिकाले खोजेको छ । यो कुनै पनि हालतमा त्यो हुन सक्दैन । यो सम्झौता कार्यन्वयन गर्न सकिदैन ”

उहाँले एमसीसी विरुद्ध सबै सडकमा निस्कनुको विकल्प नभएको बताउदै यो देश गोरा जातिको अधिनायकत्वको देश नभएको र त्यसलाई स्वीकार गर्न नसकिने चेतावनी दिनु भयो ।

महासचिव विप्लवले देशलाई जिम्मा लिन आफ्नो पार्टी तयार भएको उद्घोष गर्दै साम्राज्यवाद विरुद्ध जस्तो सुकै अवस्थामा भिड्न तयार भएको र त्यसमा सबैलाई साथ दिन अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस