कोरोनाको जोखिम बढेपछि बाँकेमा ‘निषेधाज्ञा’

साउन १५, बाँके । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ ।

लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिम देखिएकाले पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको हो ।

बाँकेमा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त देखिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को विहिवार बसेको बैठकले आइतबारदेखि तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै पूर्णरुपमा निषेधाज्ञा जारी गर्न लागिएको हो । निषेधाज्ञा उल्लंघन गरे पक्राउ गरि कारबाही गरिने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि आइतबारदेखि पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको बताउनु भयो । ‘ पूर्णरुपमा निषेधाज्ञा जारी हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ,’ प्रजिअ कुरुम्वाङले भन्नु भयो ।

सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

राजश्व कार्यालय नेपालगन्जका ११ जना, कर्मचारी यातायात व्यवस्था कार्यालय एक जना, मिठाई पसलेको सम्पर्कमा आएका ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले निषेधाज्ञाको कदम चाल्न बाध्य भएको प्रजिअ कुरुम्वाङले वताउनु भयो ।

भारतबाट वा जिल्ला बाहिरबाट आउने नागरिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आवतजावत गर्ने गरेकाले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बाहिरबाट जिल्ला भित्रिने जोकोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्ने वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस