इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि


१७ फागुन,तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ ।
केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए ।
साम्राज्यवादी अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खामेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ ।
सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुन ।
खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला थिए । सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । क्रान्तिअघि शाहको शासनको विरोध गर्दा उनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए ।
सर्वोच्च नेता बन्नुअघि उनी इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए । इरान–इराक युद्धका बेला उनले देशको नेतृत्व गरेका थिए भने सोही समयमा इरानी सैन्य दस्ता ’इस्लामिक रिभोलुसनरी गार्ड कोर’ सँग उनको सम्बन्ध बलियो भएको थियो । उनलाई एक कट्टरपन्थी र हार्डलाइन र अमेरिका विरोधी नेताको रुपमा मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस