१६ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले माओवादी एकताको आधारको रुपमा २०६४ साल पछिको माओवादी नेताहरूको सबै सम्पत्ति सार्वजनिक गरिनु पर्ने विचार व्यक्त गर्नु भएको छ ।
माओवादी एकताको मार्गचित्र २ नाम दिएको ७ बुंदे स्टाटस सामाजिक सञ्जाल फेसवुकवाट सार्वजनिक गर्दै स्थायी समिति सदस्य भरतसीले माओवादीहरुको एकताको आधारको रुपमा नेताहरुको सम्पत्ति सार्वजनिक गर्नु पर्ने विचार व्यक्त गर्नु भएको हो ।
शान्तिकाल पछि केही माओवादी नेताहरुले सत्ता र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने अभियानमा लागि पार्टीको नीति सिद्धान्त र विचार विरुद्ध काम गरेको आरोप लाग्ने गरेको छ ।
माओवादी नेताहरु व्यक्तिगत स्वार्थको राजनीति भन्दा सामुहिकताको उत्पादन, जीवन र राजनीतिमा नआए सम्म माओवादी घटकहरुको एकता सम्भव नभएको स्थायी समिति सदस्य भरत सीको संकेत छ ।
उहाँले माओवादी नेता र सबैको स्रोतबिहिन अस्वभाविक सम्पत्तिको सार्वजनिक मात्र होइन राज्यले कव्जा गरेर राष्ट्रियकरण गर्नु पर्ने धारणा राख्नु भएको छ ।
शान्ति प्रक्रिया पछि केही सत्तामा जाने माओवादी नेताहरुले कालो धन्धा गरेको र राज्यको अस्वभाविक सम्पत्ति कव्जा गरी व्यक्तिगत घरघडेरी,जमिन खरिद गरेको र केही उद्योग धन्धा र कलकारखानामा गोप्य रुपमा लगानी गरिएको कुरा वेला वखत सार्वजनिक हुने गरेका छन ।
स्थायी समिति सदस्य भरत सीले विचार र राजनीतिलाई शिर्ष स्थानमा राख्नुपर्ने भन्दै नेपाली बिशेषताको समाजवादी गणतन्त्र प्राथमिक सूचीमा ल्याई कार्यन्वयन गर्न बित्तीय एकाधिकार मुख्य बाधक रहेको वताउनु भएको छ ।
उहाँले एकताको नयाँ आधार समाजवादी गणतन्त्र बनाएपछि त्यो प्राप्तिको कार्यदिशा पनि नयाँ बनाउनु पर्ने विचार राख्दै नयाँ कार्यदिशा सोच्दा शान्तिपूर्ण र सशस्त्र संघर्स , संसद र सडक को प्रक्रियालाई एकीकृत जनक्रान्तिको कार्यदिशामा बिकास गर्नु पर्ने स्टाटसमा लेख्नु भएको छ ।