कर्णालीमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

१६ कार्तिक, कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नु भएको छ ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मंगलवार साँझ ७ ः ३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नु भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुख समक्ष सोमबार साँझ ७ ः ३० बजे राजीनामा दिनु भएको थियो । प्रदेश प्रमुखले सोमबार नै उहाँको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिनु भएको हो ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त हुनु भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिनु भएको हो ।

प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांग्रेस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।
माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्नुहुनेछ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

प्रतिक्रिया दिनुहोस