लुक्लामा विमान दुर्घटना, २ जनाको मृत्यु

वैशाख १, सोलुखुम्बु । सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमान मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको अधिकारीहरूले बताएका छन्।

लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीका अनुसार घटनामा परेर विमानका एक सहचालक र एक सुरक्षाकर्मीको मृत्यु भएको छ।

उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको अधिकारीले बताए।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तेन्जिङ-हिलारी विमानस्थलमा सो घटनाको पुष्टि गर्दै उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको बताए ।

ज्यान गुमाउने दुई जनामध्ये एक विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको अधिकारीहरूले बताएका छन्।

यसअघि प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको बताएका थिए।

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार लुक्लामा मौसम सफा छ।

प्रतिक्रिया दिनुहोस