लुम्बिनी प्रदेशमा कोरोनाका विरामीको उपचार निःशुल्क हुने


कार्तिक ४ गते वाँके ।   संघीय सरकारले कोरोना संक्रमित बिरामीहरुले आफ्नो उपचार खर्च आँफै ब्यहोर्नु पर्ने निर्णय गरेपनि लुम्बिनी प्रदेश सरकारले भने कोरोना उपचार निःशुल्क रहने जनाएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशका चारवटा कोरोना विशेष अस्पतालमा रहेका कुनै पनि बिरामीले कोरोना उपचार गरेवापत शुल्क तिर्नुनपर्ने जनाउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले प्रदेशका चार अस्पतालबाट दिईँदै आएको निःशुल्क उपचारको ब्यवस्था यथावतै रहेको जनाउनु भएको हो । ‘ लुम्बिनी प्रदेशका चारवटै कोरोना बिशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको ब्यवस्था यथावतै रहेको छ,’ मुख्यमन्त्री पोख्रेलले भन्नु भएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमीत पत्रकार सम्मेलनका क्रममा कोरोना संक्रमितहरुको उपचार सरकारले नगर्ने र स्वयं बिरामी आँफैले खर्च ब्यहोर्नु पर्ने सरकारी निर्णय सुनाएको थियो । सर्वोच्च अदालतलको परमादेश बिपरित निःशुल्क उपचारबाट सरकारले हात झिकेको भन्दै सरकारको यो निर्णयको सर्बत्र आलोचना भैरहेको छ ।

तर लुम्बिनी प्रदेश सरकारले भने कोरोना उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने भन्दै प्रदेश मातहतका चार वटा अस्पताललाई निःशुल्कै उपचार गर्न निर्देशन समेत दिईसकेको छ । प्रदेशका दाङको बेलझुण्डिस्थित आयुर्वेद अस्पताल, बुटवलस्थित धागो कारखाना प्रादेशिक अस्पताल,भैरहवाको भिम अस्पताल र बाँकेको भेरी अस्पताल कोरोना विशेष अस्पताल हुन् ।

प्रदेश सरकारले संघीय सरकारको यो निर्णयलाई ‘गलत’ भन्दै कोरोना संक्रमण निर्मुल नहुँदा सम्म प्रदेश सरकारले भने निःशुल्क उपचार गर्ने दाबी गरेको छ । प्रदेशका नागरिकको कोरोना उपचारका लागि प्रदेश सरकारसंग पर्याप्त बजेटको ब्यवस्थापन भएकाले निःशुल्क कोरोना उपचारबाट प्रदेश सरकार पछि नहट्ने समेत बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस