१६ भाद्र,दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले संसदीय व्यवस्था पूर्ण रुपले असफल भइसकेको वताउनु भएको छ ।
वुधवार दाङ जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वोल्दै उहाँले यो व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डासहित जनताको बिचमा छलफल गर्न तयार रहेको बताउनु भयो ।
नेता शितलले भन्नु भयो “संसदीय सरकार विघटन गरौं, प्रगतिशिल सरकार निर्माण गरौं र जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिउँ, हामी सबैसँग छलफल गर्न तयार छौं ।”
नेता शितलले जनमतसंग्रह संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने विषयमा हुनुपर्ने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य विक्रमले वर्गसंघर्ष त्यागेर, क्रान्ति छोडेर संसदीय व्यवस्थामा पार्टी प्रवेश गरेको भनेर केही प्रतिक्रियावादीहरुले भ्रम छरेको बताउनु भयो ।
नेकपा विशेष समिति सेक्रेटरी सुन्दरले जनता र राष्ट्रको मुक्तिका खातिर आवश्यक परे बलिदान गर्न आफुहरु तयार भएको उद्घोष गर्नु भयो ।
नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले यो संविधान र यो संसदीय सरकार विघटन गरी प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्ने बताउनु भयो ।
दाङ जिल्ला अन्तर्गत लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा, राजपुर गाउँपालिकाको संयुक्त आयोजनामा लमहीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम भएको हो ।
प्रतिक्रिया दिनुहोस