डा. केसी र सरकार पक्ष विच वार्ता टोली गठन

२१ असोज, काठमाडौं । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन ।
चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।
सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले सोमवार असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।
चिकित्सक संघको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।
यसैविच सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली गठन भएको छ ।
सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली बनाए लगतै डा. केसीको तर्फबाट पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन भएको हो । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस