बाँकेमा समुदाय स्तरमा कोरोना फैलिदै ७ सरकारी कार्यालय ‘शील’


श्रावण २१ बाँके । नेपालगन्जमा पहिलो पटक सरकारी कार्यालयमा साउन १२ गते कोरोना संक्रमण देखियो । पहिलो पटक नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय बाँकेका एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता १० दिनको अवधिमा सात वटा सरकारी कार्यालयमा कोरोना संक्रमण देखिएपछि शील गरिएका छन् ।

यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज कारागार, वडा प्रहरी कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकीय कामबाहेक अनिश्चितकालका लागि शील गरिएको छ ।

कहिँकतै ‘ट्राभल हिष्ट्री’ नभएका तर, सेवाग्राहीको अध्याधिक चाप हुने कार्यालयहरुमा देखिएको कोरोना संक्रमणले समुदायस्तरमै प्रवेश गरिसकेको छ । पछिल्लो समय बाँकेका सरकारी कार्यालयमा संक्रमितको संख्या बढ्दो छ । बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गर्दा पनि सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी संयन्त्र पनि संक्रमणको उच्च जोखिममा देखिएको छ । सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि कार्यालयका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् ।

बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था भयानक दुखदायी हुनसक्ने चेतावनीसमेत दिँदै आएका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ ।

पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् । बाँकेमा समुदायस्तमै कोरोना संक्रमण बढ्न थालेपछि आइतबारदेखि शनिबारसम्म ‘निषेधाज्ञा’ नै जारी गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले ‘निषेधाज्ञा’ जारी राखेको हो ।

प्रतिक्रिया दिनुहोस