कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टी बनाउनु पर्छः विप्लव सी

बसन्त विक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टी बनाउनु पर्ने बताउनु भएको छ । जनश्रम कृषि सहकारी संस्था लिमिटेडले शनिवार काठमाडौंमा आयोजना गरेको ‘एकीकृत लगानी र एकीकृत स्वामित्व’ अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्र्दै महासचिव विप्लव सीले कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टी बनाउनु पर्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो ‘हरेक कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु श्रममा जोडिनु पर्छ, नेता कार्यकर्ता उत्पादक शक्तिमा बदलिनु पर्छ, बुद्धिजीवी,डाक्टर,इन्जिनियर,पाईटल पनि श्रमिक नै हो, किसान मजदुर पनि श्रमिक हो, त्यसैले कम्युनिष्ट पार्टी सबै श्रमिकहरुको पार्टी बनाउनु पर्छ ।
उहाँले अबको समाजवादी क्रान्ति सम्पन्न गर्न किसान मजदुरसंगै मध्यमवर्गको भूमिका पनि महत्वपूर्ण हुने बताउनु भयो । महासचिव विप्लवले श्रम विनाको संसार बदल्ने कुरा सम्भव नभएकोे जिकिर गर्नु भयो ।

‘नेपालका सबै शक्तिहरुको सहयोग चाहिएको छ, कर्मचारी वुद्धिजीवी र विज्ञहरुको सहयोगले मात्र जनश्रम कृषि सहकारी संस्था अगाडि बढन सक्छ’ महासचिब विप्लवले भन्नु भयो ‘विज्ञहरुको ज्ञानको प्रयोग गरेर संस्थागत पूँजी लगानी गर्ने हो भने हामी सफल हुन्छौ,श्रम र स्प्रिड हामी दिन्छौ, विज्ञहरुको सहयोग आवश्यक छ ।’

महासचिव विप्लवले नेपालको राज्य जनतातिर नफर्किएको बताउदै यो दलाल पुँजीवादलाई संरक्षण गर्ने व्यवस्था भएको बताउनु भयो । उहाँले नेपालमा समाजवाद साम्यवाद आवश्यक भएको र यसले मात्र निजी स्वामित्वको अन्त्य गर्ने बताउनु भयो ।

‘अब स्वामित्वको बारे नयाँ वहस आवश्यक छ’ महासचिव विप्लवले भन्नु भयो ‘सोभियत संघको सामुहिक स्वामित्व पनि असफल भयो, निजी स्वामित्व पनि असफल भयो, हामीले भनेका छौ निजी स्वामित्व पनि राख्न पाउने हुदै सामुहिक स्वामित्वमा जानुपर्छ , यो एकीकृत स्वामित्व हो,यसले मात्र अबको समस्या समाधान गर्न सक्छ, जबर्जस्त सामुहिक भन्नु हुदैन,मान्छेलाइृ खुसी पार्दै लिनु पर्छ ।’ उहाँले सामुहिक स्वामित्वमा जान्छौ भन्दै पुँजी लुकाउनेहरु कम्युुनिष्ट हुन नसक्ने बताउनु भयो ।

महासचिव विप्लवले संसद भनेको गफ गर्ने अखडा हो भनेर लेनिनले भने पनि नेपालको हकमा संसद भनेको अपराध गर्ने अखडा भएको दाबी गर्नु भयो । उहाँले नेपालको संसद जनताप्रति भरोसा गर्न लायक नभएको बताउनु भयो ।
महासचिव विप्लवले सहकारीप्रति चलिरहेको बदनाम सहकारीको मोडल नकरात्मक नभई राज्यको नीति कार्यान्वयमा समस्या रहको बताउनु भयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टीले सहकारी मार्फत लगानी गरेर पार्टी नेता,कार्यकर्ता र जनतालाई समाजवादीकरण गरेर आत्मनिर्भर बनाउने तिर जान चाहेको बताउनु भयो । उहाँले नेकपा सरकारसग मिलेर उत्पादन गर्न चाहेको भएपनि सरकारले सहयोग नगरेको गुनासो गर्नु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘जुम्लामा स्याउ लगाउदा राज्यले स्याउका विरुवा सम्म सहयोग गरेन,सहकारी दर्ता गर्न खोज्दा गर्न मानेन्, यो राज्यको असहयोगका बावजुद पनि हामी अगाडि बढेका छौ । सहकारीहरु ढल्दै गरेका बेला हामीले सहकारीमा लगानीको अपिल गरेका छौ,हामी विस्वस्त छौ,सहकारीमा दुरुपयोग गर्न दिदैनौ,राज्य सहकारीबाट पन्छिन खोजेपनि हामी पन्छिन चाहादैनौ ।’

उहाँले सहकारी आफैमा नराम्रो नभएको भन्दै यसलाई प्रयोग गर्ने सवालमा दुरुपयोग गरिएको र त्यसमा राज्यले जिम्मेवारी नलिएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा जनश्रम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु भुसाल (सन्देश ) सीले ९० हजार विगाहमा सहकारीको उत्पादन गर्ने गरी अगाडि जान चाहेको बताउनु भयो । उहाँले यो बर्ष मात्रै करिब ३ सय बढी विगाहमा सहकारीले उत्पादनको काम गर्ने बताउनु भयो ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति भोला थापा,मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति नन्द बहादुर सिंह,सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति कर्ण बहादुर थापा लगायका विज्ञ तथा बुद्धिजीवी बक्ताहरुले नेकपाले थालेको अभियान सकरात्मक भएको भन्दै आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन ।
बौद्धिक व्यक्तित्वहरुले नेपालमा आसा लाग्दो पार्टी र नेतृत्व नेकपा र यसको महासचिव विप्लव मात्र भएको बताउदै पुराना पार्टी जस्तो नहुन र अगाडि बढन सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस