एमसीसी पास गर्ने शासकहरुलाई देशबाट लखेट्नु पर्छ ः प्रकाण्ड

१९ फागुन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी पास गरेर दिपावली गर्ने शासकहरुलाई देशबाट लखेट्नु पर्ने चेतावनी दिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले वुधवार काठमाडौंमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता प्रकाण्डले यस्तो चेतावनी दिनु भएको हो ।

अबको आफूहरुको आन्दोलन भनेको एमसीसीलाई लागू गर्न नदिने भन्दै जबसम्म एमसीसी खारेज हुँदैन तबसम्म आफूहरुले एमसीसी विरुद्धको आन्दोलन गरिरहने उद्घोष गर्नु भयो ।

रातारात गठबन्धनको नाममा, बहुमतको नाममा एमसीसी पास गरेर शेरबहादुर, प्रचण्डहरुले विगतका सबै राष्ट्रघातलाई माथ गर्ने राष्ट्रघाती कदम चालेको ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो “नेपाली जनताको स्वनिर्णयको अधिकारको विरुद्धमा यो धेरै खतरनाक छ, नेपालको आत्मनिर्भर अर्थव्यवस्था, नेपालको समृद्ध विकासको विरुद्धमा पनि यो धेरै खतरनाक छ र यो नेपाली जनताको खिलापमा छ भनेर हामी संघर्षमा छौँ ।”

अहिले संघर्ष उत्कर्षतिर गइरहेको बताउँदै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि, स्वाभिमान गुम्नबाट बचाउन लागि एक पटक सबै नेपाली जनताहरु डटेर संघर्ष गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै नेपाली जनताले एमसीसी पास गरेका छैनन् अहिले पनि नेपाली जनता एमसीसी विरुद्धको संघर्षमा छन भन्नु भयो ।
अव कसरी अगाडि वढनु हुन्छ भनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रवक्ता प्रकाण्डले भन्नु भयो “ अबको एमसीसी विरुद्धको संघर्ष भनेको लागू गर्न नदिने हो । संसदभित्र सिमित मान्छे पैसा खाएर गरेको हुन्छ ? ३ करोड नेपाली जनता छन्, एमसीसी पास भयो सक्किगो भन्ने ठान्नु भएको छ ! कहाँ लागू गर्नुहुन्छ शेरबहादुर जी, प्रचण्ड जी,बाबुराम जी‘ ? यै धर्तीमा ! यो धर्तीमा नेपाली जनता छन् । ३ करोड नेपाली जनताको सामना गर्न सक्छनु हुन्छ ? विचार गर्नुहोला ।”

अमेरिकी साम्राज्यवादका कारण युक्रेनमा चर्किरहेको युद्धको उदाहरण दिदै उहाँले त्यहाँका शासक, राष्ट्रपतिका कारण युक्रेनी जनता जुन मार खेपिरहेका छन् त्यो मुर्खता नगर्न नेपाली शासक देउवा, प्रचण्ड, माधव नेपाल, ओली, बाबुरामको ध्यानाकर्षण गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस