बाँकेका मुक्तकमैयाहरु आन्दोलित,चरणवद्ध संघर्षका कार्यक्रम घोषणा

२४ पुस,बाँके । जिल्लाको कोहलपुर नगरपालिका वडा नम्वर ११ लोकनगरमा वस्ने बाँकेका मुक्तकमैयाहरु चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलित भएका छन ।

आफूहरुले लामो समय देखि भोग चलन गर्दै आएको जग्गाको से्रस्ता सहितको लालपूर्जा नपाएको र जग्गा समेत रोक्का गरिएको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलित भएका हुन ।

आफूहरुलाई सरकारले कमैया मुक्त घोषणा गरेको २२ वर्ष पुग्दा पनि व्यवस्था नगरेको कमैयाहरुले गुनासो गरेका छन ।
शनिवार लोकनगरमा कमैयाहरुको वसेको वैठकले आफूहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा यथाशिघ्र पाउनुपर्ने र रोक्का जग्गा फुकुवा गरिनु पर्ने मुख्य माग गरेका छन ।

कमैयाहरुले आफ्ना मागहरु पुरा गराउन सरकार र सम्वन्धित सरोकारवाला निकाय विरुद्ध चरण्वद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा पुस २४ गते कोहलपुर नगरपालिका,वडा नम्वर ११ को वडा कार्यालय, इलाक प्रशासन कार्यालय र नगरभूमि आयोगको कार्यालयमा ज्ञापनपत्र पेश गर्दै छन । यस्तै २४ गते वेलुका ५ वजे कोहलपरु चौराहमा मसाल जुलुस पनि गर्दै छन ।

पुस २५ गते कोहलपुर नगरपालिकाको कार्यालय र वडा नम्वर ११ को वडा कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम छ ।
यस्तै मुक्तकमैयाहरुले पुस २६ गते दिउसो १ वजे देखि दिउसो २ वजे सम्म एक घण्टा कोहलपुर चौराहमा चक्काजाम गर्ने संघर्षको कार्यक्रम राखेका छन ।

लामो समय देखि कमैया जीवन विताउदै आएका कमैयाहरुलाई तत्कालिन सेरवहादुर देउवा नेतृत्वको सरकारले विस २०५७ साल साउन २ गते कमैयामुिक्तको घोषण गरेको थियो । त्यस यता सरकारले उनीहरुको कुनैपनि व्यवस्था गर्न सकेको थिएन ।

कमैयाहरुलाई मुक्त भएको घोषण गरिएको करिव ८ वर्ष पछि वाँकेका ८३७ मुक्तकमैयाहरुलाई कोहलपुर नगरपालिकाको लोकनगरमा विस २०६५ साल फागुन ११ गते वसोवासको लागि आधा कट्ठा देखि १६ धुर सम्मको जग्गा दिएको थियो ।

मुक्तकमैया पूर्नस्थापना आयोग मार्फत दिएको पुर्जा हातमा लिएर कमैयाहरु लोकनगरमा वसेका थिए । तर मुक्तकमैया आयोगको पुर्जा भने हातमा हेर्ने वाहेक अरु कुनै कामकाजको नभएको कमैयाहरुले वताउने गरेका छन ।

मुक्तकमैया पुर्नस्थापना आयोगले दिएको पूर्जा अहिले वैङ्क तथा वित्तिय संस्थमा राखेर व्यवसायीक ऋण निकाल्न रोक्का गरिएको छ ।
यस्तै जग्गाको से्रेश्ता समेत कायम नगरिएकाले आफूहरुको घर व्यवहार चलाउन नसकिएको मुक्तकमैयाहरुको गुनासो छ ।

मुक्त कमैया जग्गा फुकुवा संघर्ष समितिका अध्यक्ष चिन्कु थारुले सरकारले कमैयाहरुलाई व्यवास्ता गरेका कारण अहिले सम्म जग्गाको किनवेच तथा व्यापार व्यवसाय गर्ने लालपूर्जा पाउन नसकेको गुनासो गर्नु भयो ।

उहाँले आफ्नो आन्दोलन सरकारलाई झकझकाउने र मागहरु पुरा गराउने आन्दोलन भएको जानकारी दिनु भयो । संघर्ष समितिले आफ्ना मागहरु अवको १५ दिन भित्र सरकारले पुरा नगरे कडा संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस