वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नगरी देशमा आमुल परिवर्तन हुदैन ः विवेक सी

१) तपाई राज्यको आमुल परिवर्तनको अपेक्षा सहित जनयुद्घ, शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको यात्रामा हुनुहुन्छ , कसरी लिनु हुन्छ अहिलेको सन्दर्भलाई ?

हो विगतको जनयुद्ध, शान्ति प्रक्रिया र अहिलेको एकीकृत जनक्रान्तिसम्म आउँदा परिस्थिति निकै फेरबदल भएको छ र उथलपुथल भएको छ । देशमा विभिन्न प्रकारका नकारात्मक घटनाहरु घटिरहेका पनि छन्, त्यसैले अहिलेको समसामयिक परिस्थिति भनेको सामाजिक दलालहरुको हातमा छ । यी दलालहरुले दलाल संसदीय व्यवस्था चलाएका छन्, र त्यो व्यवस्था जनविरोधी छ । त्यसैले अहिले हामी एकिकृत जनक्रान्तिमा छौँ । एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नगरी यो देशमा आमुल परिवर्तन हुने अवस्था देखिदैन । त्यसैले अहिलेको परिस्थितिलाई एउटा एकीकृत जनक्रान्तिको उचाइको रुपमा लिन सकिन्छ । दलाल संसदीय व्यवस्था अन्तिम छटपटाहटको स्थितिमा हुनाले विश्व सर्वहारावर्ग तथा आम नेपाली जनताको क्रान्तिकारी आन्दोलन विजयउन्मुख छ भनेर पनि लिन सकिन्छ ।

२) एकीकृत जनक्रान्तिको क्रममा पार्टी माथिको प्रतिबन्ध फुकाउन तीन बुँदे गरेर यहाँसम्म आईपुग्दा तपाईहरुले गरेका गतिविधिलाई क्रान्ति, आन्दोलन र परिवर्तन कै दिशामा गैरहेको भनेर बुझ्ने वा केहि मान्छेहरुले भनेजस्तै पार्टी फेरी पुरानै व्यवस्थामा फर्कियो भनेर बुझ्ने ? के भन्नुहुन्छ ?

हाम्रो पार्टी स्थापना कालदेखी सामाजिक दलाल संसदीय व्यवस्थाको नष्ट गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि दिलो ज्यान दिएर महान अभियनमा होमिएको कुरा दिनको घाम झै छर्लङ्ग छ । त्यसैले हाम्रो पार्टीलाई पुरानै अवस्थामा फर्किएको भन्न मिल्दैन । हाम्रो पार्टी कहिलै पनि पुरानो अवस्थामा फर्किदैन । जहिले पनि नयाँ सम्भावनाको खोजिमा हिडिरहन्छ । हाम्रा हरेक कामहरु एकीकृत जनक्रान्तिको पक्षमा छन् , वैज्ञानिक समाजवादको पक्षमा छन् ।

नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बीच भएको तिन बुँदे सहमति हामी पछाडी हटेर यथास्थितिमा रहेर दलाल संसदीय व्यवस्था मान्नका लागि नभएर नेपालमा एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष लिएकाले हाम्रो पार्टी पुरानै अवस्थामा फर्केको छैन बरु नयाँ सिराबाट अगाडी बढेको छ भन्ने कुरा सहि हो ।

३) अब छिट्टै फागुन १ गते अर्थात जनयुद्ध दिवस आउँदैछ । हिजोका प्रतिबद्धता र आजको आन्दोलनलाई दाजेर हेर्दा यो समयलाई कसरी बुझ्ने वा कसरी सम्झिन सकिन्छ ?

निश्चित रुपमा नेपाली क्रान्ति निरन्तर रुपमा अगाडि बढिरहेको छ । जहासम्म माओवादी जनयुद्धको कुरा छ त्यो एक गौरवशाली लडाई थियो, जसले गर्दा विश्वमा नेपालीहरुलाई स्थापित गर्नुका साथै स्वाभिमानी परिवर्तनप्रेमी र क्रान्तिकारी शक्तिको रुपमा हामीलाई चिनाएको थियो । तर जनयुद्धको उद्देश्य जे थियो,आज त्यो अनुसार लक्ष्यमा पुग्न नसक्दा र केहि नेताहरुका गद्दारीका कारणले अहिले प्रतिक्रान्ति हुँदै गइरहेको स्थितिमा त्यो एक अपराधी जत्थाले गरेको हिंसात्मक अपराध थियो भनेर बदनाम गर्ने अभियान पनि न्वारन देखिको बल लगाएर चलाएकै छन् ।

यसलाई हामीले निरासा,हिनता र चिन्ताको रुपमा होइन ,महान जनयुद्धको गौरवमय इतिहासलाई जीवनकालमा कहिलै पनि नविर्सिने अठोटको रुपमा बुझ्नु पर्दछ र केही नेता खास गरेर प्रचण्ड, बाबुरामको गद्दारीलाई पाखा लगाउँदै महान जनयुद्ध दिवस तथा १ गतेलाई अझै लक्ष्यमा पर्याउने प्रतिबद्धता पुरा गर्नेगरी अघि बढ्ने प्रण गर्नु पर्दछ । यो वेला सबै जनयुद्धमा सहभागी र त्यसका पक्षधरले आफुलाई नयाँ ढंगले पुर्नगठित र पुर्नसंगठित गर्न आवश्यक छ । हामीले महान सहिद र बेपत्ता योद्धाका सपना साकार गर्ने अठोटका साथ अगाडी बढ्नु पर्दछ । यहि अर्थमा हिजोका प्रतिबद्धता र आन्दोलनलाई बुझ्न र सम्झिन सकिन्छ किनभने हामिले गरेको आजको आन्दोलनले हिजोका प्रतिबद्धता पुरा गर्ने अठोट लिएको छ ।

४) नेकपाले केहि समय अघि पार्टीको नवौ महाधिवेशन सम्पन्न गरेको र त्यसमार्फत केहि नयाँ प्रस्ताव र वैचारिक संश्लेषणहरु समेत गरेको बुझियो, ती संश्लेषणहरु के के थिए, संक्षेपमा भनिदिनुहोस न ?

हाम्रो पार्टीको नवौँ महाधिवेसन २०७९ असोज २५ देखी कार्तिक २ गतेसम्म कपिलवस्तुमा निर्मित आफ्नै केन्द्रिय कार्यालयमा सम्पन्न भयो । महाधिवेशन गर्ने क्रममा तिनवटा प्रतिकुलता थिए ति प्रतिकुलताका बावजुद पनि हामिले शानदार ढंगले महाधिवेसन सम्पन्न गरेका छौ । ति तिनवटा प्रतिकुलता भनेको एक,महासचिव लगायत नेताहरुलाई दलाल सत्ताको व्यवस्थाले पक्राउ पुर्जी काटेको स्थिति दुइ ,दलाल सत्ताको संघ र प्रदेश सभाको चुनाव तीन,दशै र तिहार थिए ।

तैपनि महाधिवेशनन भव्य रुपमा सम्पन्न भयो र केहि नयाँ प्रस्ताव पारित र नयाँ संश्लेषण गरेका छौँ । जस्तो– नेपालमा प्राय वास्तवमा अन्य राजनीतिक दलहरुका महाधिवेशनमा विचार, राजनीति, देश र जनताको मुद्धामा बहस हुन छाडेको अवस्थामा नेकपाको महाधिवेशनमा ति मुद्धामा छलफल भै निचोड दिन पाउँदा हर्ष र खुसिको अनुभूति भएको छ । यो नवौँ महाधिवेशनले गरेको निणर्यलाई हेर्दा अहिलेसम्म जनताले भोगिरहेका समस्याहरुलाई समाधान गर्न समयानुकूल क्रान्तिकारी विचार र कार्यदिशाको विकास गर्ने प्रस्ताव पास गरेको छ ।
अझै फराकिलो तरिकाले भन्दा दर्शनमा अनिश्चय ,रक्षा र रुपान्तरणको नियम, राजनीतिक अर्थशास्त्रमा एकीकृत स्वामित्व प्रणालीको नियम ,वैज्ञानिक समाजवादमा एकीकृत निर्वाचन प्रणालीको नियम जस्ता नयाँ संश्लेषणहरु गरेको छ । जो दुरगामी महत्वका छन् । साम्यवादी सी जातिको घोषणा र अन्य राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको बिश्लेषण पनि महाधिवेशनले पास गरेको छ ।

५) जनताले यो व्यवस्थाको विकल्प खोजिरहेका छन् भन्दै हुनुहुन्छ ? अनि तपाईहरु विकल्प दिन्छु भनिरहनु भएका क्रान्तिकारी पार्टी र नेताहरुले भरपर्दो वातावरण बनाउने भन्दा पनि टुटफुट र विभाजनको समस्या देखियो नि ? किन यस्तो हुँदैछ ?

अहिलेको सामाजिक दलाल संसदीय व्यवस्थाले जनतन्त्र, जनजीविका र राष्ट्रियताको विषयमा ध्यान नदिएर विदेशी प्रभुहरुको गोटी बनेर राष्ट्रघात र जनघात गर्दै गएपछि स्वाभाविक रुपमा जनताले नयाँ विकल्प खोजेको छन् र त्यसका लागी जनताहरु नयाँ तरिकाले पुनर्गठित भएर नयाँ विकल्पको स्थापना गरिसकेका छन् । जुन एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । यसको नेतृत्व हामी र हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीले गरेको छ र हामीले विकल्प दिन्छौ भन्ने कुरा विस्तारै सावित पनि हुँदै गएको छ । हामी राष्ट्रियता, जनतन्त्र, जनजीविका, भ्रष्टाचार,लुट, तस्करी, जातीय विभेद, आदि विषयमा दिलो ज्यान दिएर जनसंघर्ष गरिरहेका छौँ ।
जहाँसम्म टुटफुट र विभाजनको विषय छ, यो बडो बिडम्बनाको विषय छ । क्रान्तिकारी एकता र ध्रुवीकरणको विषयलाई वृहत रुपमा पहल गरेर जानु पर्दछ र कतिपय क्रन्ति गर्न नसकेर क्रान्तिबाट हारखाएर थाकेकाहरु कुनै एउटा बहाना बनाएर साईड लाग्छन् । क्रान्ति नगर्नेहरु साइड लाग्दा अन्ततः क्रान्तिकारी आन्दोलनलाई फाइदा हुन्छ ।

६)अब अलिकति फरक प्रसंगमा जाउ । तपाई आन्दोलनको क्रममा पश्चिमको भुगोलमा कर्मथलो बनाएर काम गर्दै आउँनु भो ! अहिले पुर्वतिर काम गर्दै हुनुहुन्छ । के –के अन्तर पाउँनु भो –पुर्व र पश्चिम बीच ?

हो ,विगत ५६ साल देखि पश्चिमको भुगोलमा लामो समयसम्म काम गरेर एक खालको शिक्षा (अनुभव) हासिल गरे। अहिले करिव बीस एक्काईस महिना देखि पुर्वको भुगोलमा काम गरिरहेको छु । यसमा पनि धेरै प्रकारका शिक्षा हासिल भएका छन् । ति धेरै भन्दा धेरै सकारात्मक शिक्षा हासिल गरेको छु । विभिन्न प्रकारका अनुभवहरु बटुलेको छु । जहाँसम्म अन्तर र समानताको विषयमा भन्नु पर्दा स्वभाविक रुपमा केहि अन्तरहरु छन् ।
बोली, भाषा, खानपिन, भौगोलिक अवस्थादेखि लिएर केहि अन्तर छन् । क्रान्तिलाई बुझने र बुझाउने विषयमा पनि केहि अन्तर छन् । जस्तै २०२८ सालमा पुर्वबाट विद्रोह भयो भने ५२ सालमा पश्चिमबाट जनयुद्ध सुरु भयो र अहिले पनि विद्रोह संगठित बढि पश्चिममा छ । अझै ठोषमा भन्दा पुर्वमा पूँजीवादी प्रवृति छ भने पश्चिममा सामन्तवादी प्रवृति छ । अव समानताका विषयमा भन्दा राष्ट्रियताको माया,भावना पूर्वमा पनि छ र पश्चिममा पनि छ । यी लगायतका विषयमा समानता छन् । हामी सबै नेपाली हौ । नेपाल रहे मात्रै हामी रहन्छौ ।

७) भनेपछि पुर्वमा क्रान्ति फेरी उठ्न सम्भव छ भन्ने लाग्छ ? के – के देख्नु भयो त्यसका आधारहरु ?

मलाई पूर्वमा क्रान्ति फेरी उठ्छ भन्ने लाग्छ र उठाउनु पनि पर्छ । त्यसका आधारहरु के हुन भने पुर्वमा पनि राष्ट्रिय उत्पीडन छ र वैदेशिक हस्तक्षेप छ यी नै क्रान्तिका साझा आधारहरु हुन । यस्ता उत्पीडन र हस्तक्षेपबाट मुक्त हुनका लागी पूर्वमा पनि क्रान्ति उठ्ने तथा वृहत रुपमा संगठित हुने सम्भावना छ ।

८)नेकपाले गएको स्थाीनय चुनाव प्रयोग गर्यो । फेरी हालै सम्पन्न आम चुनाव खारेजीको कार्यनीति बनायो ।यसले त पार्टीको लाईन झन अस्पष्ट भयो भन्दा के हुन्छ ?

कार्यनीतिलाई रणनीतिकअर्थमा बुझ्दा वा कार्यनीतिको लचकताको प्रयोगलाई बुझ्ने हिसाबले मान्छेहरुमा केहि बुझाईका समस्या आउन सक्छन्त । र पार्टीको चुनाव सम्बन्धि नीति र निर्णयले चुनाव सबै थोक हो वा चुनाव हुनै नहुने तत्व हो भन्ने दुबै अतिबादी बुझाईलाई तोडेको छ । कुनै पनि कम्युनिष्ट क्रान्तिकारीहरुका लागि संसदिय चुनाव प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो।कार्यनीतिक विषयहरु जतिखेर पनि फेरबदल हुन्छन वा बदलिन्छन । ‘त्यसैले कार्यनीति कै रूपमा पार्टीले स्थानीय चुनाव प्रयोग गर्यो भने संघ र प्रदेश सभाको चुनाव खारेजको नीति लियो ।
त्यसैले पार्टीको चुनाव प्रयोगको नीति र खारेजीको नीति कार्यनीतिक विषय भएकाले यसलाई अस्पष्ट भन्न मिल्दैन । जहाँसम्म हाम्रो पार्टीले कार्यनीतिक निर्णयलाई रणनीतिक विषय बनाएको हो कि भन्ने प्रश्न छ त्यसमा हामी स्पस्ट छौ ।

९) केहि दिन पहिले तपाँईहरुको महासचिव विप्लवले झापा आनदोलन देखिका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने अभिव्यक्ति दिनुभयो । के एमाले, माओवादी र तपाँईहरु सबै एउटै पार्टी बनाउनु पर्छ भन्नखो्ज्नु भएको हो ?

हम्रो जनप्रीय पार्टीका महासचिव कमरेड विप्लवले एक कार्यक्रममा झापा आन्दोलन देखिका क्रान्तिकारी एक ठाउँमा आउनु पर्छ भन्नु भयो , हो यो एकदम राम्रो कुरा हो । तर अहिले तत्काल एमाले, माओवादी र हामी तत्काल एउटै बनाउन सकिने कुराको जुन सवाल हो , त्यो सम्भव छैन। किन भने एमाले –माओवादी सामाजिक दलाल संसदीय व्यवस्थामा रमाएर राष्ट्रघात,जनघात, र भ्रटाचार गर्दैछन् । हाम्रो पार्टी एकीकृत जनक्रान्ति मार्फत राष्ट्रको उद्धार, जनताको उद्धार र भ्रष्टाचार निर्मुल गर्ने अभियानमा छ । एउटै पार्टी बनाउनका लागी एमाले, माओवादीले दलाल संसदीय व्यवस्था त्यागेर वैज्ञानिक समाजवाद स्थापना गर्ने महान अभियानमा आउनु पर्छ ।
अर्को कुरा झापा आनदोलन देखिका क्रान्तिकारी योद्धाहरु एमाले र माओवादीमा मात्रै छैनन् कि विभिन्न ठाउँमा छरिएर बस्नु भएको छ ,यस्ता छरिएर बसेका र कुनै पनि पार्टीसङ्ग आबद्ध भएका सच्चा क्रान्तिकारी शक्तिहरु एउटै ठाउँमा आएर फेल भएर बदनाम कमाएको सामाजिक दलाल संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञासनक समाजवादी व्यवस्था स्थापना गरेर देशमा आमुुल परिवर्तन ल्याउन आवश्यक छ ।

१०)अन्त्यमा सहिद, वेपत्ता परिवार, घाइते योद्धा ,देशभक्त शक्तिहरु लगाएत हामी जनपक्षीय मिडिया कर्मीहरुलाई थप के भन्नु हुन्छ ?

विभिन्न परिवर्तमानकारी आनदोलन तथा महान जनयुद्ध र एकीकृत जनक्रान्तिमा शहादत प्राप्त गर्नुहुने महान वीर शहिदहरुलाई उच्च सम्मान सहित भावपुर्ण श्रदांजली व्यक्त गर्दछु र महान वीर शहिदहरुले छोडेका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता गर्दै शहिद परिवारलाई निराश नभएर अन्यायको विरुद्धमा र न्यायको पक्षमा अगाडी बढ्न अनुरोध गर्दछु । यहि कुरा बेपत्ता परिवारलाई पनि अनुरोध गर्न चाहान्छु ।
जहाँसम्म घाइते याद्धाहरुको कुरा छ , हिजो दश वर्षे जनयुद्धमा म पनि घाईते भएकोले घाईतेको पीडा मलाई राम्ररी थाहा छ । हामी घाइतेयोद्धा साथिहरुले जीवनको भिख मागेर होइन, एक थोपा रगत र एक मुठ्ठी साहास रहुन्जेल आमुल परिवर्तनको पक्षमा पुनर्गठित भएर निरन्तर संघर्षमा लाग्नुपर्दछ। न्यायको पक्षमा लाग्नु पर्दछ ।बरु एक्लै हिड तर सत्यको बाटोलाई नछोड भन्ने कमरेड माओको भनाईलाई आत्मसातीकरण गर्नुपर्दछ । देशभक्त शक्तिहरुले देशको माया बोकेकोले देश यस्तो जटिल अवस्थामा पुगेको वेला आफ्नो भुमिकालाई अझ माथि उठाउनै पर्छ ।

यतिबेला देशका मुठ्ठीभर दलालहरुले देशलाई विदेशीहरुको ईशारामा चलाईरहेका छन् । यसलाई टुलुटुलु हेरेर नबसौँ । वैदेशिक हरुतक्षेपको अन्त्य गर्न राष्ट्रिय स्वाधीनताको पक्षमा एकाबद्ध भएर एकीकृत जनक्रान्तिको कार्यदिशालाई सफल पारौ भन्न चाहान्छु ।हाम्रा लोकप्रिय तथा जनप्रिय मिडियाले जे भूमिका खेलिरहेका छन,यो एकदमै राम्रो कुरा हो । मिडिया भनेको यर्थाथताको धरातलमा पुगेर सत्य तथ्यको उजागर गर्ने,सुचनाबाट बन्चित भएर अन्यायमा परेका नागरिकहरुलाई सुचनाको पहुँचमा ल्यायर न्याय दिने काम गर्ने एउटा सशक्त माध्यम पनि हुन । यी र यस्तै काम गर्दै जानु मिडियाको कर्तव्य पनि हो र कर्तव्यनिष्ट हुनुहुनेछ भन्ने आशा राख्दै अन्त्यमा तपाईहरु र जनपक्षीय मिडियाहरुलाई सफलताको शुभकामना दिदै हार्दिक धन्यवाद दिन चाहान्छु ।

( विवेक सी नेकपाका केन्द्रिय सदस्य तथा उदयपुर – ओखलढुंगा इन्चार्ज हुन।)

प्रतिक्रिया दिनुहोस