दशरथपुरका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गरिनेछ: विप्लव

१५ जेठ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले निरंकुश पञ्चायत विरुद्धको आन्दोलनका क्रममा उच्च साहादत्त प्राप्त गर्ने दशरथपुर विद्रोहका ७ जना सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गरिने प्रतिवद्धता जनाउनु भएको छ ।

सोमवार नेकपा सुर्खेतले दशरथपुरमा पञ्चायत विरुद्धको आन्दोलनमा साहादत्त प्राप्त गर्ने सहिदहरुको स्मृतिमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

महासचिव विप्लवले दशरथपुरको जनविद्रोह पञ्चायतीहरुको अत्याचारको उच्च रुप भएको भन्दै बलिदानको इतिहासँलाई अवमुल्यन गर्न नहुने वताउनु भयो ।

उहाँले भन्नु भयो “आजको दिन एक महत्वपूर्ण दिन हो, एकातिर गणतन्त्र दिवस मनाईदैछ भने अर्कोतिर विद्राह दिवस पनि मनाईदैछ, अहिलेको गणतन्त्र प्राप्तिको लागि योगदान गर्ने भनेका सहिदहरु हुन, जुन दशरथपुर,झापा,भिमदत्त पन्तको विद्रोह देखि जनयुद्ध जनआन्दोलन र एकीकृत जनक्रान्ति सम्मका सवै विद्रोहका सहिदहरुको योगदान छ ।”

दशरथपुरको विद्यार्थी तथा किसानहरुको विद्रोहलाई इतिहासको गर्भमा लुकाउन नहुने तर्फ जोडदिदै महासचिव विप्लवले यो विद्रोहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरिनु पर्ने वताउनु भयो ।

उहाँले सहिद भनेका देशका पूँजी भएको तर्क गर्दै सवै पार्टीहरुले दशरथपुरको इतिहासलाई साझा रुपमा लिएर यहाँका सहिदहरुलाई छिट्टै राष्ट्रिय सहिद घोषणा गर्नेमा सहमति गर्ने विश्वास व्यक्त गर्नु भयो ।

महासचिव विप्लवले भन्नु भयो “आज जे कारणले नेता भएका छन दशरथपुरको विद्रोहले हो,जे परिवर्तन भएको छ यहि विद्रोहले हो,सुर्खेतीहरु अन्यायलाई सहदैनन बहादुरहरुका सन्तान हुन भन्ने इतिहास झल्किएको छ, यसमा निरास होइन गर्भ गर्नु पर्छ ।”

उहाँले पञ्चायतको निरंकुश शासन भित्र २०३६ साल जेठ १५ गते विद्रोह गर्ने कुरा सामान्य नभएको भन्दै यो विद्राहलाई सिंगो राज्यले उच्च सम्मान गर्नु पर्ने विचार राख्नु भयो । महासचिव विप्लवले यो विद्राहको सम्मान हुन नसक्नु, सहिद परिवार र घाईतेहरुले अहिले सम्म राहत नपाउनु र सहिदहरु राष्ट्रिय सहिद हुन नसक्नु दुखत कुरा भएको वताउनु भयो । उहाँले यसलाई अव छिट्टै समाधान गर्नेतिर सरकार संग पहल गरिने आश्वासन दिनु भयोे ।

किसानहरुले मल वीउ समयमा नपाउनु, जनताका छोरा छोरीहरुले शिक्षा दिक्षा नपाउनु,पञ्चहरुले मात्र आफ्नो छोरा छोरीलाई पढाउनु, समाजमा शोषण दमनले उग्ररुप लिनुको परिणाम नै दशरथपुर विद्रोह जन्मिएको हो महासचिव विप्लवले भन्नु भयो ‘यो विद्रोहले वहुदलीय व्यवस्थाको माग गर्दै अहिलेको परिवर्तन सम्म योगदान गरेको छ ।’

उहाँले विद्रोहमा सहिद हुने ७ जना इन्द्र विसी,व्रहमहदत्त तिवारी,कर्ण वहादुर खत्री,लालवीर टमट्टा, हस्त वहादुर सार्की,न्याउले कामी, र वहादुरे कामी प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै विद्रोहका घाईते पूर्ण वहादुर फौजा मगर,जंग वहादुर रखाले,मानवहादुर सटाली,इन्द्र वहादुर पौडेल लगायतका घाईतेहरुलाई उच्च सम्मान व्यक्त गर्नु भयो ।

महासचिव विप्लवले मानव जातिको इतिहास युद्धको इतिहास भएको दावी गर्दै स्वतन्त्रता र समानताका लागि युद्ध अनिवार्य हुने गरेको उल्लेख गर्दै बरु युद्ध जनताले होइन राज्यपक्षले निम्त्याउने गरेको ठोकुवा गर्नु भयो ।

कुनै पनि कम्युनिष्ट आन्दोलन होस वा अन्य परिवर्तनका आन्दोलन होस समाज रुपान्तरणका लागि गरिएको वलिदानहरु बहादुरीताको इतिहास भएको भन्दै महासचिव विप्लवले इतिहासलाई कसैले पनि विर्सन नहुने र त्यसलाई अगाडिको शिक्षाको रुपमा लिनु पर्ने सुझाव दिनु भयो ।

महासचिव विप्लवले अव दशरथपुरको इतिहास मात्र होइन कर्णाली र सिंगो देशको इतिहास पढन सुर्खेतवासी जनतालाई आग्रह गर्नु भयो । उहाँले इतिहास देश र जनताको मुक्तिका लागि जोखिम मोल्न तयार हुनेहरुको मात्र हुने टिप्पणी गर्नु भयो ।

महासचिव विप्लवले देशमा सहिदहरुको रगतले सोचे जति परिवर्तन नभएको स्वीकार गर्दै अग्रगामी परिवर्तन र निकासका लागि फेरी पनि तयार हुन आग्रह गर्नु भयो ।
उहाँले अहिले पुरानो संसदीय व्यवस्था पूर्ण असफल भएकाले यो वेला कसैले राजा ल्याउने हल्ला फैलाउनु ,कसैले स्वतन्त्र पार्टीको विकल्पको कुरा गर्नु त्यो जाहेज नहुने ठोकुवा गर्दै निकासको अग्रगामी विकल्प समाजवाद मात्र हुने दावी गर्नु भयो ।

अग्रगामी निकासको वाटो समाजवाद हुदा हुदै पश्चगामी २४० वर्ष शासन चलाएको राजतन्त्र फर्काउने हल्ला गर्नु असम्भव छ उहाँले भन्नु भयो ।

उहाँले नेपाली नेताहरु विदेशीको चाकरी गर्ने, पैसाका लागि लम्पसार पर्ने नागरिकलाई समेत वेचेर खाने गलत नियतका कारण देश आर्थिक तथा राजनैतिक संकटतिर गएको ठोकुवा गर्नु भयो । देशलाई राष्ट्रघात र जनघातवाट वचाउन सम्पूर्ण समाजवादी विचार राख्ने कम्युनिष्टहरु एकतावद्ध हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रमा महासचिव विप्लवले दशरथपुर विद्राहका सहिद परिवारजन र घाईतेहरुलाई दोसल्लाह ओढाएर सम्मान पनि गर्नु भएको छ ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,नेकपाका आधा दर्जन केन्द्रीय सदस्यहरु,नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसी,एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत विसी,नेकपा समाजवादीका केन्द्रीय सल्लाहकार यज्ञ रिजाल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

नेकपा सुर्खेतका इन्चार्ज धुव्र सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा सुर्खेतका सेक्रेटरी जीत सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस