जनसत्ता र स्थानीय सत्ताले गर्ने काम आकास धर्तिको फरक छः पालिका अध्यक्ष वि.क

सुर्खेतको चौकुने गाउँपालिका अहिले फरक पहिचानमा उभिएको छ । यस गाउँपालिकाले भ्रष्टाचार मुक्तको मुख्य नारा अगाडि सारेको छ । गाउँपालिका अध्यक्ष खडक विक (विवश)ले गाउँपालिकाको सरकारी गाडी समेत प्रयोग गर्न चाहादैनन् । उनी यो पनि भ्रष्टाचार मुक्तको सुरुवात भएको दाबी गर्छन । अध्यक्ष विक आफ्नो निजी मोटर साईकल चढेर प्रत्येक जनताको घरदैलोमा पुग्ने गरेका छन । उनले जनतासंगको सम्वन्ध माछा र पानी जस्तो बनाउने संकल्प गरेका छन । नेकपा (माओवादी केन्द्र)बाट २०७९ को स्थानीय निर्वाचनबाट विजयी बनेका अध्यक्ष विकले गाउँपालिकामा खानेपानी,सिँचाई,बाटो र विजुलीको कामलाई जोड दिएका छन । उनले गाउँपालिकामा थुप्रै सुधारका कामहरु गरेका छन । उनले जनयुद्धमा चलाएको जनसत्ता र अहिलेको गणतन्त्रको स्थानीय सत्ता निकै आकास धर्तिको फरक भएको अनुभूति पनि गरेका छन । गाउँपालिका अध्यक्ष विकसंग पत्रकार कर्ण विश्वकर्माले गरेको यो कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौ ।

अध्यक्ष ज्यू स्वागत छ, ! गाउँपालिकाको नयाँ नीति तथा कार्यक्रमको तयारी कस्तो छ ?

जनताबाट सुझाव लिएर नीति तथा योजना बनाउने तयारी गरेका छौ । यतिबेला अत्यन्तै ब्यस्त छौं । नागरिकका कामहरु र भावनाहरु समेटेर नीति तथा योजना बनाउन चाहान्छौं ।

तपाईले आफ्नो २ बर्षिय कार्यकालमा चौकुने गाउँपालिकामा के कस्ता सम्झिन लाएक कामहरु गर्नु भयो ?

मैले गाउँपालिकामा जनताका लागि धेरै सम्झिन लाएक कामहरु गर्ने प्रयास गरेको छु । यसलाई व्यवस्थापन गरिरहेको छु । पहिलो कुरा गाउँपालिकालाई भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने प्रयास गरेको छु । सेवा प्रवाहमा नागरिकको घरदैलोमा सेवा विस्तार गर्ने काम गरेको छु । सामाजिक सुरक्षा भत्ता वडा– वडामा गाउँपालिकाको गाडी सहित प्रहरी,बैङ्कको  हाकिम तथा कर्मचारी, जनप्रतिनिधिहरु गएर बाँड्ने काम गरिएको छ । यस्ता कामलाई निरन्तरता दिने काम गरिरहने छु ।

भ्रष्टाचारमुक्त गर्छु भन्नु भयो, कसरी गर्नु हुन्छ ?

गाउँपालिकालाई अरु भन्दा फरक बनाउने कोशिस छ । योजनाहरु पनि प्रत्येक वडामा त्यही पुगेर सम्झौता गर्ने गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, इन्जिनियर,प्राविधिक लगायतको टिमहरुसंगै गएर योजनाहरुको सम्झौता गर्ने व्यवस्था गरिएको छ । यसले जनतालाई सुविधा नजिक आएको महशुस गरेको छ । मैले सरकारी गाडी अहिलेसम्म चढेको छैन । यो पनि भ्रष्टाचार मुक्तको सुरुवात हो । भ्रष्टाचार नीतिगत र आर्थिक दुबै गर्नु हुदैन भन्ने मेरो मान्यता हो । मैले नागरिकको बिचमा चुनाबका बेला सरकारी गाडी नचढ्ने प्रतिबद्धता गरेको थिए । त्यसको कार्यान्वयन गर्नु मेरो कर्तव्य हो । अर्कोकुरा गाउँपालिकाको गाडी नागरिकहरुको सेवाप्रवाहको काममा लगाएको छु । यो भ्रष्टाचार मुक्तको प्रयास हो । अनियमिता मुक्तको प्रयास हो । आज धेरै स्थानीय तहले लाखौ लाखको तेलको विल निकालेका छन । खर्च गरेका छन । त्यसबाट हामी जोगिन चाहान्छौ । कसैलाई पनि भ्रष्टाचार गर्ने छुट छैन । त्यो कडाई गरिएको छ ।

नागरिकहरुले सेवा कसरी लिने गरेका छन ?

प्रत्येक योजनाहरु म आफै गएर हेरिरहेको छु । नागरिकहरु लाईनमा बसेर सेवा लिने बातावरण हटाएको छु । काम गर्ने कुनै पनि फाँटमा नागरिकहरु धेरै समय रोकिनु पदैन । काम तुरुन्त गर्ने व्यवस्था मिलाएको छु । ढिला भयो भने म आफै पनि पुग्ने गरेको छु । काममा ढिला भएको गुनासो आउन दिएको छैन । नागरिकहरुलाई शिघ्र सेवा दिएको छु । सामाजिक सुरक्षा भत्ता घर– घरै गएर बाँडेको छु ।

विकासका ठुला योजना तथा कामहरु के छन र कसरी गरिरहनु भएको छ ?

विकासको कुरा गर्नु पर्दा पालिकासंग सीमित साधन श्रोत छ । हामीले शिक्षामा, कृषिमा, रोजगारीमा, साना मर्मतमा र क्षमता विकासमा गाउँपालिकाको बजेटबाटै गरेका छौ । तर ठुला आयोजनाहरु प्रदेश र संघीय सरकार र विभिन्न दातृ निकायबाट पहल गरेर ल्याएका छौ । जसअन्तरगत गुटुखोला देखि बेनीाघाट सम्मको पश्चिमको बाटो बनाईरहेका छौ । यसमा बाटोका कारण ठाउँ –ठाउँमा ब्रेक लगाएर हिड्नु पर्ने अवस्था छ । त्यसलाई ब्रेक नलगाउनु पर्ने गरी बाटो बनाउने काममा छौ । नागरिकसंग पनि यो बाटो बनाउने बाचा गरेको थिए । अहिले काम जारी छ । बाटोलाई छिटो भन्दा छिटो अबको १ बर्ष भित्र कालोपत्रे गर्ने गरी कामहरु भईरहेको छ ।

कालोपत्रे हुने गरेको निर्माणाधिन बाटो सबै बडाहरुमा पुग्छ ?

सबै वडाहरु भन्नाले के छ भने यो गुटुखोला वेनीघाट सडकले छुने भनेको खासगरी वडा नम्वर ७,८, ५,४,३,२ र १ हो । वडा नम्वरर ६ मा छुन करिब १ सय मिटरको दुरी टाढा पर्छ । यो बाटोले नछुने भनेको वडा नम्वर ९ र १० हो । प्रायजसो अरु सबै वडामा यो बाटोको सुविधा पुग्छ ।

यो गाउँपालिकालाई मात्र जोड्ने सडक हो वा कस्तो सडक हो ?

खासगरी मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने सडक हो । प्रदेश जोड्ने सडक पनि हो । यसलाई टेण्डर गरी कामको प्रक्रियामा लिनको लागि मैले नै धेरै पहल गरे । डिपिआर भएको मात्र थियो । अरु कुनै काम अगाडि बढेको थिएन । टेण्डरको काम भएको थिएन । म आफै काठमाडौ गएर प्रधानमन्त्री प्रचण्ड र तत्कालिन अर्थमन्त्री जनार्धन शर्मासंग भेटगरी पहल गरेर तत्काल निश्कर्ष निकाल्ने गरी टेण्डर गराउने प्रक्रिया भयो । ठेक्का प्रक्रिया भएपछि अहिले काम भईरहेको छ ।

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दा कस्ता सुझावहरु जनताले दिए ?

सुझाव संकलन गर्दा नागरिकहरुले ठुलो माग र सुझाव राखेका छैनन् । पिउने पानी,सिँचाई गर्ने पानी,विजुलीको व्यवस्था,बाटो र विद्यालय भवन निमार्णका सुझावहरु दिएका छन । यी माग तथा सुझावहरु समान्य हुन । यी गनै पर्छ । यहाँ मुख्य गरी खानेपानी र विजुलीको समस्या बढी छ ।

अहिले विजुलीको सुविधा कति ठाउँ पुगेको छ ?

२०८० साल भाद्र १६ गते मात्र यो चौकुने गाउँपालिकामा राष्ट्रिय प्रशारणलाईन जोडिएको छ । त्यही दिन गाउँपालिकाको अगाडि बत्ति बालेर मैले विजुलीको उद्घाटन गरेको छु । यसमा धेरै ठुलो पहल गरेको छु । सुर्खेत जस्तो ठाउँमा बत्ति थिएन । यो सुर्खेतको विकट जस्तै क्षेत्र हो । प्रदेश सरकार लगायत विभिन्न क्षेत्रले सर्पोट गरेर मात्र विजुली पुगेको हो । अहिले ५ वटा वडाहरुमा बत्ति जोडिएको छ । जसमा वडा नम्वर ६,७,८,९ र १० छ । हाल १,२,३,४ नम्वर वडामा जोड्न बाँकी छ । वडा नम्वर ५ मा तत्काल जोड्ने प्रयास भइरेहको छ ।

सिँचाईको अवस्था के कस्तो छ ?

नागरिकहरुको सिँचाईको माग पनि आएको छ, यसमा प्रदेश सरकारको समपुरक बजेटबाट झण्डै ४२ करोडको आयोजना गुुटुको झुम्ल्यापुरको मुहान प्रयोग गरेर बन्दैछ । त्यसलाई विशाल तलाउ बनाउने र नागरिकको आवश्यकता अनुसार पानी वाँफाड गरेर सिँचाई गर्ने योजना छ । यसको टेण्डर गर्ने काम भईरहेको छ । अबको एक डेढ बर्ष भित्र सम्पन्न हुन्छ । यसको वरिपरिका नागरिकलाई सुविधा हुने आसा गरेको छु । घाटगाउँ इलाकामा भेरी वा कर्णालीको पानीलाई लिप्ट गरेर सिँचाई गर्ने पहल भईरहेको छ । विजौरा,लगाम र बेतानमा पनि साना सिँचाई आयोजनाहरु बनाउने पहल गरेका छौ ।

यो पालिकामा खानेपानीको अवस्था कस्तो छ ?

यो पालिकाको ५ नम्वर वडामा खानेपानीको समस्या अलि बढी छ । समस्या समाधान गर्ने सोचमा छौ । भर्खरै उर्जामन्त्री रणसिंह परियारसंग पनि भेटघाट र कुराकानी पनि भएको छ । यस वडाको रेच्चामा भएको खानेपानी समस्या समाधान गर्छु भन्नु भएको छ । म पनि लाग्छु । यहाँ पानीको श्रोत नै नभएर समस्या हो । मैले ट्याक्टरबाट पानी वोकेर दिन्छु सम्म भनेको थिए । जनताले हामी कुवा र इनारलाई भरपुर सदुपयोग गरेर काम चलाउछौ भन्नु भयो । उहाँहरुले तत्काल दिर्घकालीन समस्या हल हुने गरी काम गर्न सुझाव दिनु भएको छ । हामी गर्छौ ।

तपाईले गरेका कामहरुमा जनताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

हेर्नुहोस, जनता भनेको ३÷४ प्रकारको छ । एउटा ७५ प्रतिशत जनता आवाज विहिन छ । उ के चाहिएको हो ? भन्न पनि सक्दैन र सरकारको पहुचमा पनि आउन सक्दैन । अर्को १५ प्रतिशत जनता छ । यो चियाँगफमा समय विताउछ । मज्जाले कुरा मात्र गर्छ कुराहरु सम्वन्धित निकायमा पुर्याउदैन । अर्को ५ प्रतिशत जनता छ । त्यो समस्या पनि देखाउछ, पहल पनि गर्छ र सम्वन्धि ठाउँमा पनि पुग्छ । अर्को यस्तो जनता छ ५ प्रतिशत जो जागरिका कुरा गर्छ । योजना भएन भन्छ । विरोधको नाममा विरोध गदर्छ । व्यक्तिगत समस्या लिएर मात्र पालिकामा पुग्छ । काम नभएपछि मुर्दावादको नारा लगाउछ । तर म चाहि ७५ प्रतिशत जनताको आवाज विहिन जनताको प्रतिनिधि हौं । मज्जाले काम गर्छु । उनीहरुको प्रतिक्रिया राम्रो छ । म १० घरको लागि भन्दा १०० घरको समस्या परेको बाटोको काम अगाडि हल गर्छु । यसले केहीलाई राम्रो र केहीलाई असर पर्ने नै भयो । तर वहुसंख्यक जनताको सुविधा हुने गरी सोच्नु पर्छ । उनीहरुको सुभाव र प्रतिक्रिया राम्रो छ ।

तपाईले विगतमा जनसत्ता पनि चलाउनु भएको अनुभव छ,अहिले लोकतान्त्रिक गणतन्त्रको संसदीय व्यवस्थाको स्थानीय सरकार पनि चलाउने अवसर पाउनु भयो । यसका के फरक पाउनु भयो ?

तपाईको यो प्रश्न निकै महत्वपूर्ण छ ,यसमा आकास धर्तिको फरक छ । जनयुद्धको समयमा विजौरादेखि लगाम सम्मको ३३ किलोमिटर बाटो यिनै हातहरुले यिनै जनताले खनेका हौं । आज त्यही बाटो देखाएर फोटो खिचेर लाखौ रुपैया खानेहरु पनि छन । हिजो मान्छे आफ्नो लागि आफै गर्न तयार थिए । आज सरकारले दिएको पैसा पनि २ रुपैया आफू खान खोज्छ । अब भन्नु होस ! त्यतिखेर र अहिले धेरै फरक छ । त्यतिवेला १०० रुपैया भयो भने २०० रुपैयाको काम हुन्थ्यो । अहिले १०० रुपैया भयो भने ५० रुपैयाको काम मात्र हुन्छ । इमान्दारिता धेरैसंग छैन अहिले हरायो । जनसत्तामा मान्छेहरु अनुसाशित र इमान्दार थियो । झुट्टो बोल्दैन थियो । अहिले उल्टो छ । शान्तिप्रक्रिया पछि इमान्दारिता कमजोर भयो । विचार आर्दशहरु पनि कमजोर भयो । श्रममा आधारित भएन । श्रम कमजोर भयो । त्याग गर्ने विचार कमजोर भयो । जनयुद्धमा चलको जनसत्तामा उसलाई बढी दिनु मलाई कम दिनु ,मलाई नभएपनि हुन्छ उसलाई दिनु,भन्ने भावना र विचार थियो । आज त्यो हरायो ।
उसो भए यहि कुर्सीबाट हिजोका आदर्शहरु र अभ्यास गरिएका जसत्ताका सकरात्मक कामहरु पुरा गर्न सकिन्छ होला ?

यहि व्यवस्थाबाट सबै गर्न निकै गार्हो नै छ । हामीले राजतन्त्र हटाएर गणतन्त्र ल्याएर व्यवस्था परिवर्तन त गर्यौ । आदतहरु परिवर्तन गर्न सकेनौ र यो समस्याहरु आए । राता –रात भारतमा केजरीवालले जनताको लागि कामहरु गर्न सक्ने हामी नसक्ने होईनौं । कहि न कहि आदतीय समस्या छन । बालेन आउने बातावरण हामीले बनायौ । उनीहरु आफै आएका होईनन् । यो गणतन्त्रले बनाएको हो । तर के भयो भने सत्तामा हुने नेताहरुले ठिक ढंगले कामहरु गरेनन् । समाजवाद साम्यवाद पनि हराउला र खालान जस्तो भयो । यसमा सोच्नुपर्छ । टुक्रे उत्पादन पद्धतिको चेतना छ । राजा हुदा पनि यस्तै थियो । व्यवस्थाको नाम ठुलो कुरा होईन खास काम चाहियो भन्ने हो । व्यक्ति र उनको आचरण विग्रियो । जनयुद्धबाट आएको एउटा इमान्दार तप्का अवसर आउदा पनि दुरुपयोग गर्न चाहादैन । तर अर्को यस्तो तप्का छ जहाँ पनि अवसरको लागि लड्ने र अवसरको दुरुपयो गर्ने अनि बेईमान गर्ने पनि छ । जेहोस हामी इमान्दार हुनुपर्छ । जनयुद्धमा उठाएका सकरात्मक काम, सपना र आदर्शहरु पुरा गर्ने गरी सोच्नुपर्छ । यो व्यवस्थालाई समाजवादतिर लिने गरेर सोच्नुपर्छ ।

के यो व्यवस्था नै गलत छ भन्न खोज्नु भएको हो ?

व्यवस्था भित्रका व्यक्तिहरु र उनको आचारण खराव देखियो । व्यवस्था आफैमा खराव हुदैन । तर सेतो गाडी चढ्न नै पर्ने संघीयता भने बेकार लाग्छ । अनिवार्य गाडी चढेको छ । राज्यको सम्पत्तिको दुरुपयोग भएको छ । म गाउँपालिका अध्यक्ष भएर पनि गाडी चढ्दैन । यस्तै अरुले पनि गरेको भए राज्यको खर्च कटौती हुने थियो । म त भन्छु चौकुने बाट सिक । खर्च प्रणाली घटाउँ पादर्शि हुने हो अनिमात्र संघीयता दिगो हुन्छ । जो सत्तामा आएपनि उस्तै हुन भन्ने जनतामा नजाहोस भनेर म सतर्क छु । जनताको लागि यहि व्यवस्था भित्र पनि राम्रो गर्ने प्रयास गरेको छु । यो व्यवस्थाका अभावहरु कानून संविधान संशोधन गरेर भएपनि जनताको हितमा बनाउनु पर्छ ।

तपाई जनतासंगै श्रममा पनि भाग लिनु हुन्छ,काम गर्नु हुन्छ भन्ने कुरा आएको छ के कस्तो हो ?

अवश्य, हो म गरिरहेको छु । नागरिकको सेवाको लागि हो । म जनतासंग जोडिएर श्रम नगरे भने के छुट्यो ? के गल्ती गरे ? जस्तो लाग्छ । त्यहि भएर पनि प्रायजसोः म जनताको श्रममा भाग लिइरहन्छु । श्रम गर्ने काममा जोडिरहन्छु ।

स्थानीय तहमा नातवाद कृपाबादको आरोप लाग्छ तपाईको पालिकामा के छ ?

पूर्व अध्यक्षलाई गुनासो थियो । अहिले त्यस्तो छैन । पालिकामा कर्मचारकिो कुरा छोड्नुहोस, मेरो आफन्त कोही हेल्पर पनि छैन । कोही कर्मचारी पनि नातेदार राखेको छैन । बरु मैले सहिद परिवारका छोरा छोरी तथा उनका आफन्तहरु आवश्यक परेको ठाउँमा करार कर्मचारीमा राखेको छु ।

अन्तमा केही भन्नु हुन्छ कि ?

यो चौकुने गाउँपालिका ७९.५ प्रतिशत बनजंगल भएको ठाँउ हो । बनजंगलले धनी छ । यसको सदुपयोग र संरक्षण गर्नु पर्छ । विगतमा कृषि क्षेत्रको अनुदान पाउदा वास्तविक पाउनु पर्नेहरुले पाएको देखिदैन त्यसलाई सुधार गर्छु । उत्पादनलाई बजारिकरण गरिने छ । व्यवसायीक कृषि गर्ने नागरिकलाई प्रोत्साहित गरिने छ । यहाँको जनताको सुशासनका लागि अहोरात्र खट्ने छु । अहिले म पूर्ण सफल भएको छैन तर हुने प्रयास गर्ने छु । युवाहरु बाहिर गइरहेका छन । करिब १८ सय बेरोजगार युवाहरुलाई विभिन्न व्यवसायीक योजना भित्र रोजगार दिने सोेचेको छु । बनमा आधारित कृषिलाई जोडेर कृषिबनको अवधारणाबाट औद्योगिक किसान बनाएर काम गर्न चाहान्छु । यसका लागि असार १० सम्म किसानहरुलाई आफ्ना प्रस्तावनाहरु ल्याएर पेश गर्न पनि आग्रह गरेको छु ।

अध्यक्ष ज्यू ,महत्वपूर्ण समयका लागि धन्यवाद ।

धन्यवाद पत्रकार मित्र तथा मिडियालाई ।

 

 

प्रतिक्रिया दिनुहोस